
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवा सुरु गरेको छ । कम्पनीको बलियो आधारस्तम्भका रुपमा विभिन्न पेसा, उद्योगव्यवसाय, वित्तीय क्षेत्रका प्रतिष्ठित एवम् सफल व्यावसायिक पृष्ठभूमि भएका व्यक्ति/संस्था छन् ।
पशुपति मुरारका अध्यक्ष रहेको कम्पनी सञ्चालक समिति सदस्यमा नन्दकिशोार शर्मा, आकाश गोल्छा र शर्मिला महर्जन छन् । बार्कलेज बैङ्क यूकेबाट आफ्नो कार्य सुरु गरेका प्रकाशविक्रम खत्री कम्पनीमा कार्यकारी उपप्रमुखका रुपमा रहेका छन् । चुक्ता पुँजीका हिसाबले सञ्चालित जीवन बिमा कम्पनीमध्ये तेस्रो स्थानमा रहेकोे यो कम्पनीमा व्यक्ति तथा संस्था गरी ४२ प्रवद्र्धक छन् ।
अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ दशमलव २० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ दशमलव ५४ अर्ब चुक्ता पुँजी रहेको कम्पनीले निकट भविष्यमै सर्वसाधारणका लागि ६६ करोड रुपैयाँको सेयर जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले सेवा केन्द्र विस्तारमा विशेष प्राथमिकता दिएको छ । कार्य शुभारम्भ गरेकै दिनदेखि एकैपटक देशका १० स्थानबाट सेवा शुभारम्भ गरेको पनि कम्पनीले जानकारी दिएको छ । उपत्यकाका ज्ञानेश्वर, गोङ्गबु, जोरपाटी, कीर्तिपुर, पुल्चोक र सूर्यविनायक तथा उपत्यकाबाहिर नारायणगढ, वीरगन्ज, पोखरा र चन्द्रनिगाहपुर छन् ।
हाल तीनओटा जीवन बिमा योजना जारी गरी सेवा सुरु गरेको यो कम्पनीले केही दिनभित्र थप दुई बिमा योजना जारी गर्ने र आगामी दिनमा देशका सातओटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गरी दुर्गम भागमा समेत सेवा विस्तार गरी जीवन बिमामा नसमेटिएका व्यक्तिलाई समेत समेट्ने गरी आफ्ना सेवा केन्द्र विस्तार गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।