पथलैया–परवानीपुरका दुई दर्जन उद्योगको भविष्य जोखिममा

व्यापारिक मार्ग विस्तार आयोजनाले सर्भिस लेन र फास्ट लेन मात्रै बनाएको तर उद्योग तथा प्रतिष्ठानमा जाने एक्सेस रोड नबनाएकाले उद्योगको भविष्य जोखिममा परेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले बताए ।

वीरगन्ज । वीरगन्ज–पथलैया व्यापारिक मार्ग विस्तार योजनाले ‘एक्सेस रोड’ नबनाई बाटो निर्माण गर्दा पथलैया–परवानीपुरमा रहेका दुई दर्जन ठूला उद्योग र व्यापारिक प्रतिष्ठानको भविष्य जोखिममा परेको छ ।

व्यापारिक मार्ग विस्तार आयोजनाले सर्भिस लेन र फास्ट लेन मात्रै बनाएको तर उद्योग तथा प्रतिष्ठानमा जाने एक्सेस रोड नबनाएकाले उद्योगको भविष्य जोखिममा परेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले बताए ।

उद्योग तथा व्यापारिक प्रतिष्ठानमा २२ चक्केसम्म सवारी साधन आउने गर्छन् । तर, सरकारले ती सवारी साधान उद्योगभित्र छिर्ने एक्सेस रोड बनाएको छैन । योजनाले सर्भिस लेन मात्रै बनाएको छ, जहाँँ सामान लिएर आएको ट्रकलाई लामो समयसम्म रोकेर राख्दा सर्भिस लेनबाट आवातजावत गर्ने सवारी साधनलाई असर पुग्ने महासचिव राजपालले जानकारी दिए ।

पथलैया–परवानीपुर औद्योगिक करिडोरमा रहेका कुनै पनि उद्योगलाई एक्सेस रोड नदिँदा उद्योगको भविष्य अप्ठ्यारोमा परेको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले जानकारी दिए । सरकारले पथलैया–परवानीपुर–ड्राईपोटसम्म ६ लेनको बाटो बनाइरहेको छ । साइड साइडमा सर्भिस लेन पनि बनाइएको छ । तर, सर्भिस लेनमा एउटा गाडी राखेपछि कुनै पनि गाडी नछिर्ने र जाम हुने राजपालले जानकारी दिए ।

योजनाका इन्जिनियर अशोककुमार यादवले उद्योगलाई एक्सेस रोडको व्यवस्था गर्ने बताए । ‘जसरी भए पनि उद्योगलाई रोड दिन्छौँ’, उनले भने, ‘त्यस बारेमा सरोकारवालासँग छलफल भइरहेको छ, । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना प्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी र उद्योगी बसेर समस्या समाधानका लागि लागिपरेका छन् ।

सरकारले समाधान नलिकाले दुई दर्जन उद्योगमा भएको लगानी, त्यहाँबाट सिर्जित रोजगारी गुम्ने अवस्था आएको छ ।