बिजुली उत्पादन: १४० मेगावाट जोडियो, २१ मेगावाट थपिँदै

यस्तै २१ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजना असारभित्रै प्रणालीमा जाडिने भएको छ । यो समेत गरी चालु आर्थिक वर्षमा १६१ मेगावाट बिजुली थपिने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।

काठमाडौं । चालू आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १४० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । चालू आर्थिक वर्षमा २८५ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिए पनि हालसम्म १४० मेगावाट मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।

यस्तै २१ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजना असारभित्रै प्रणालीमा जाडिने भएको छ । यो समेत गरी चालु आर्थिक वर्षमा १६१ मेगावाट बिजुली थपिने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।

प्राधिकरणअन्तर्गत ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना राष्ट्रिय प्रणालीमा जोडिएका छन् । त्यस्तै निजी क्षेत्रबाट विभिन्न आयोजना सम्पन्न भई ६५ मेगावाट विद्युत् उत्पादन भएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार, २१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना पनि असारभित्रै सम्पन्न भई विद्युत् उत्पादन हुनेछ ।चालू आवमा निजीक्षेत्रबाट अपेक्षा गरिएभन्दा निकै कम आयोजना मात्रै सम्पन्न भएकाले पनि प्रक्षेपण गरिएअनुसार विद्युत् उत्पादन हुन नसकेको अधिकारीले बताए ।

‘निजीक्षेत्रबाट चालू आवमा १५८ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य लिएका थियौं,’ उनले भने, ‘तर, निकै कम आयोजना मात्रै आएकाले पनि अपेक्षित विद्युत् उत्पादन गर्न सकिएन ।’माथिल्लो त्रिशूली ३ र कुलेखानी तेस्रो जलविद्युत् आयोजना धेरै पुराना र रुग्ण आयोजना हुन् ।

ती आयोजना पनि चालू आवमै सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिसकिएको छ ।वन विभागले समयमै स्वीकृती नदिनु, जग्गा प्राप्ति नहुनु र बैङ्किङ समस्या समाधान गर्न सरकारले कुनै पनि सहयोग नगरेका कारण लक्ष्यअनुसार जलविद्युत् आयोजना बनाउन नसकिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

‘वनले समयमै स्वीकृति दिएन । जग्गा प्राप्ति र बैङ्किङ विगतकै मुख्य समस्या मुख्य हुन्,’ उनले भने, ‘यी कुरामा सरकारले कँही पनि सहयोग गरेन, त्यसैले आयोजना बन्न सकेनन् ।’चालू आवमा निर्माण सम्पन्न हुने लक्ष्य लिइएका आयोजना अर्को वर्ष सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अर्को आवमा भने चालू आर्थिक वर्षमा निर्माण हुन नसकेका आयोजनासहित कुल साढे १ हजार २०० मेगावाटका आयोजना सम्पन्न भई विद्युत् उत्पादन गर्ने प्रक्षेपण गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्षलाई अभूतपूर्व विद्युत् उत्पादन हुने वर्षका रुपमा लिएको प्रवक्ता अधिकारीले बताए ।

आगामी आवमा निजीक्षेत्रको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत १११ मेगावाटको सान्जेन र ४२ र ११ मेगावाटका क्रमशः सान्जेन र अपर सान्जेन आयोजना पनि आगामी आवमै सञ्चालन हुने जनाइएको छ ।