आगामी वर्षदेखि चिलिमे हाइड्रोपावरले संस्थागत कर तिर्दै, ३० करोड नाफा घट्ने

गत आर्थिक वर्षसम्म गरेको नाफामा कम्पनीले संस्थागत कर तिर्नुपरेको थिएन । जसअनुसार उसले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । आगामी वर्षदेखि २० प्रतिशत कर तिर्नुपर्ने भएकाले नाफामा कमी आउँदा सेयरधनीले पाउने लाभांश पनि घट्ने चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए ।

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ देखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा ३० करोड रुपैयाँसम्म घट्ने भएको छ । आगामी आर्थिक वर्षदेखि २० प्रतिशत संस्थागत कर (कर्पोरेट ट्याक्स) लाग्ने भएपछि नाफामा कमी आउने भएको छ । औसत ९० करोड रुपैयाँ खुदनाफा गरेको चिलिमेले संस्थागत करको दायित्व बढेपछि ६० करोड रुपैयाँमा झर्ने छ । अब ६० करोड रुपैयाँमा चिलिमेका सेयरधनीले लाभांश पाउने छन् ।

गत आर्थिक वर्षसम्म गरेको नाफामा कम्पनीले संस्थागत कर तिर्नुपरेको थिएन । जसअनुसार उसले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । आगामी वर्षदेखि २० प्रतिशत कर तिर्नुपर्ने भएकाले नाफामा कमी आउँदा सेयरधनीले पाउने लाभांश पनि घट्ने चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । उनले २८ देखि ३० करोड रुपैयाँ संस्थागत कर सरकारलाई बुझाउनुपर्ने जानकारी दिए ।

यस्तै रोयल्टी रकम पनि बढेर प्रतिकिलोवाट १ हजार रुपैयाँ बुझाउनु पर्ने छ । हालसम्म १ किलोवाट बराबर १०० रुपैयाँ रोयल्टी बुझाउँदै आएको छ ।

दुई वर्ष नाफा घटे पनि १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनाले विद्युत् उत्पादन सुरु गरेपछि सहायक कम्पनीबाट लाभांश प्राप्त हुने भएपछि चिलिमेको नाफा बढ्ने उनको भनाइ छ ।

सरकारले दिएको १५ वर्षको संस्थागत कर छुट गत आर्थिक वर्षदेखि सकिएकाले यस वर्षदेखि तिर्नुपर्ने उनको भनाइ छ । गत आर्थिक वर्षमा ९३ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । चिलिमेले आर्थिक वर्ष ०६०/०६१ देखि बिजुली उत्पादन थालेको हो । आयकरको दायरामा आउने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडपछि चिलिमे पहिलो जलविद्युत् कम्पनी हो । सरकारले जलविद्युत् कम्पनीलाई १५ वर्षसम्म कर छुट दिएको छ ।

चलिमेले सहायक कम्पनीमार्फत २७० मेगावाटका ४ ओटा आयोजना निर्माण गरिरहेको छ । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ । दुई वर्षपछि चिलिमे र उसको सहायक कम्पनीबाट गरी २९२ मेगावाट बिजुली उत्पादन क्षमता हुनेछ । २७० मेगावाट क्षमताका ४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै ४२५ मेगावाटका ५ ओटा आयोजनाको काम अघि बढाउन सम्भाव्यता अध्ययन एकसाथ अघि बढाएको छ । आयोजनामा चिलिमेले साढे ५ अर्ब रुपैयाँ लगानी गरेको कोइरालाले बताए ।