सुपरदोर्दी जलविद्युत् आयोजनाको ६० प्रतिशत प्रगति, २०७७ असारभित्र बिजुली बल्ने

पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको सो आयोजना २०७७ असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण भइरहेको हाइड्रोपावर कम्पनीका निर्देशक अर्जुन गौतमले बताए ।

काठमाडौं । लमजुङमा निर्माणधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको सो आयोजना २०७७ असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण भइरहेको हाइड्रोपावर कम्पनीका निर्देशक अर्जुन गौतमले बताए ।

सुरुङ खन्ने काम झन्डै ६५ प्रतिशत सकिएको छ । भर्टिकल साफ्टतर्फको २१७ मिटर सुरुङमध्ये ५० मिटर बाँकी छ । एक महिनाभित्र ५० किमी भर्टिकल साफ्ट ‘ब्रेक थ्रु’ हुने कम्पनीले जनाएको छ । २० किलोमिटर सडकलगायतका पूर्वाधारका काम सकिएका छन् ।

आगामी मंसिरभित्र आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य रहेको गौतमले जानकारी दिए । ६४० मिटर अग्लो हेड रहेको उक्त आयोजनामा २ ओटा टर्बाइन रहनेछन् । सुरुङको हेड रेस ५.१ किलोमिटर रहेको छ । आयोजना निर्माण भएपछि वार्षिक ३२ करोड युनिट विद्युत् उत्पादन हुने निर्देशक गौतमले जानकारी दिए ।

सानिमा बैङ्कको अगुवाइमा सातओटा बैङ्कको ऋण लगानी आयोजना निर्माण भइरहेको छ । आयोजनाको प्रारम्भिक कुल लागत अनुमान ८ अर्ब ८० करोड रुपैयाँ छ । आयोजनामा सिभिलतर्फ हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन, वज्रगुरु कन्स्ट्रक्सन र बीपीसी कम्पनीले काम गरिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणसँग २०७१ फागुनमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको उक्त आयोजना विसं २०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो । ४९.६ मेगावाटमा डिजाइन गरिएकोमा पछि ५४ मेगावाट पुगेको छ । बाँकी ४ मेगावाटको विद्युत खरिदबिक्री सम्झौता (पीपीए)को अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माण भएपछि उत्पादित विद्युत् लम्जुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । हाल उक्त सबस्टेसनको काम पनि तीव्र रुपमा अघि बढेको छ । दोर्दी करिडोरमा मात्रै निजी लगानीमा आधा दर्जन आयोजना निर्माणाधीन छन् ।