तल्लो मोदीखोला जलविद्युत् आयोजनामा कर्मचारीले लगाए ताला, आयोजनाले गुहार्याे सरकार

कर्मचारीका माग प्रचलित कानुनविरुद्ध रहेको भन्दै आयोजनाले सरकारको ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । तल्लो मोदीखोला जलविद्युत् आयोजनामा कर्मचारीले ताला लगाएका छन् । २० मेगावाट क्षमताको उक्त आयोजनाअन्तर्गतका ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि र आशिष फेवा नयाँबाटो जेभीका कर्मचारीले आयोजनामा स्वतः स्थायी हुनुपर्ने, काम गर्न नचाहेको अवस्थामा प्रतिव्यक्ति २० लाख उपदान दिनुपर्ने, निर्माणका क्रममा आएका विज्ञ कर्मचारीलाई हटाई स्थानीय कर्मचारी मात्र राख्नुपर्नेलगायत माग राखी उनीहरु आन्दोलित छन् ।

कर्मचारीका माग प्रचलित कानुनविरुद्ध रहेको भन्दै आयोजनाले सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार आयोजनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजनास्थलमा यस्तै प्रकारको वातावरण रहेमा यस कम्पनीलाई करोडौं रुपैयाँको नोक्सानी हुने र देशीविदेशी लगानीकर्तामाझ गलत सन्देश गई लगानी निरुत्साहित हुने भएकाले नेपाल सरकारसहित सम्बन्धित सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गर्दै चाँडोभन्दा चाँडो आयोजना सुचारु गराइदिन अपिल गर्दछौं ।’