गुणस्तर चिह्न नवीकरण शुल्क ५६६ प्रतिशत वृद्धि, आवेदन दिँदा पनि शुल्क

विभागले १० वर्षपछि नयाँ शुल्क निर्धारण गर्दै ठूला उद्योगको नवीकरण शुल्क १५ हजारबाट एक लाख रुपैयाँ पु¥याएको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह (एनएस) नवीकरण शुल्क ५ सय ६६ प्रतिशतसम्म बढाएको छ । विभागले ठूला उद्योगको एनएस नवीकरण शुल्क करिब ५ सय ६६ प्रतिशत बढाएको हो ।

विभागले १० वर्षपछि नयाँ शुल्क निर्धारण गर्दै ठूला उद्योगको नवीकरण शुल्क १५ हजारबाट एक लाख रुपैयाँ पु¥याएको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

विभागले ठूला उद्योगसँगै मझौला र साना उद्योगको पनि शुल्क बढाएको छ । साना उद्योगको नवीकरण शुल्क २ सय प्रतिशत वृद्धि गरी १५ हजार रुपैयाँ पु¥याएको छ भने, मझौला उद्योगको पनि २ सय प्रतिशत नै वृद्धि गरी ४५ हजार रुपैयाँ पु¥याएको छ । यस अघिसम्म साना उद्योगको ५ हजार, मझौला र ठूला उद्योगको १५÷१५ हजार रुपैयाँ नवीकरण शुल्क लाग्दै आएको थियो ।

उद्योग विभागमा जसरी उद्योग दर्ता गराएका हुन्छन्, सोही आधार मानेर उद्योगको शुल्क निर्धारण गरेको पुडासैनीले बताए । ‘विभागले जुन आधारमा उद्योग दर्ता गराएका छन्, सोहीलाई आधार मानिएको हो,’ उनले भने, ‘तर, यसअघि मझौला र ठूला उद्योगको नवीकरण शुल्क समान थियो । अहिले फरक बनाइएको छ ।’ मझौला र ठूला उद्योगको हैसियत एउटै नभएकाले शुल्क पनि फरक फरक निर्धारण गरिएको विभागले प्रस्ट्याएको छ ।

‘लामो समयदेखि एनएस नवीकरण शुल्क वृद्धि गरिएको थिएन,’ उनले भने, ‘जमाना कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो शुल्क पुरानै थियो । त्यही भएर एकै चोटि धेरै बढेको जस्तो देखिएको हो ।’

निरन्तर दुई वर्षको अध्ययन÷अनुसन्धानपछि नेपाल गुणस्तर परिषदको १०० औं बैठकले शुल्क बढाएको हो । अर्थमन्त्रालयको सहमतिमा नमुना परीक्षण शुल्क, एनएस नवीकरण शुल्क र एनएस लिनका लागि आवेदन शुल्क परिमार्जन गरिएको हो । यस अघिसम्म एनएस लिनका लागि आवेदन दिए मात्रै पुग्थ्यो भने यो परिमार्जनपछि दुई हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

‘शुल्क नलाग्ने भएपछि जथाभावी रुपमा निवेदन आउन थाले,’ पुडासैनीले भने, ‘त्यसलाई रोक्न न्यूनतम शुल्क राखिएको हो । साना, मझौला तथा ठूला उद्योगको निवेदन शुल्क समान छ ।’

विभागका महानिर्देशक पुडासैनीले अबदेखि प्रत्येक वर्ष १० प्रतिशतका दरले एनएस नवीकरण शुल्क बढाइने छ । विभागले अहिले बढाएका कतिपय शुल्क २० वर्षदेखि बढाइएको थिएन । उदाहरणका रुपमा नमुना परीक्षण शुल्कलाई लिन सकिने उनको भनाइ छ ।

कतिपय संस्था वा व्यक्तिले विभागमा परीक्षणका लागि ल्याउने सामग्रीको शुल्क धेरै वर्षदेखि बढाइएको थिएन । यस पटक त्यसको समेत वृद्धि गरिएको छ ।