no-image

काठमाडौंमा सुरु भएको चार दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै दिगो कृषि विकास रणनीति कार्यान्वयनमा अगाडि बढेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको विकासमा आफू संवेदनशील रहेको बताएका छन् । काठमाडौंमा सुरु भएको चार दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै दिगो कृषि विकास रणनीति कार्यान्वयनमा अगाडि बढेको बताए ।

उनले मुलुकको समृद्धि र आर्थिक विकासमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउँदै पहिला हामी कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्ने र त्यसपछि मात्रै निर्यात गर्न सकिने बताए । प्रधानमन्त्री आधुनिक परियोजनाबाट विभिन्न क्षेत्रलाई जोन, सुपरजोन बनाई औद्योगिकीकरण गरिने उल्लेख गरे । त्यसका लागि भूमि उपयोगअन्तर्गत भूमि एकीकरण र चक्लाबन्दीमार्फत् उत्पादन र उत्पादकत्वमा जोड दिइने बताए ।

त्यस्तै कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले सार्क राष्ट्रको साझा दायित्वका आधारमा कृषिको समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । कृषिलाई मर्यादित पेसा बनाउन र भूमिको उचित व्यवस्थापन गर्दै कृषिका माध्यमबाट युवा उद्यमीलाई रोजगारीका अवसर सिर्जना गर्न केन्द्रित भएको बताए । जग्गाको खण्डीकरण र बाँझो जमिनको समस्या समाधान गर्न आफू लागि परेको बताए ।

त्यस्तै मन्त्रालयका सचिव युवकध्वज जीसीले पाँच वर्षमा उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा गर्न कृषि विकास रणनीतिको कार्यान्वयनमा जोड दिइएको बताए । उनले कृषिलाई आधुनिक र व्यवसायीकरण नगरिएसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यसको योगदान बढाउन नसकिने तर्क गरे ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र नेपाल, कृषि प्रसार समितिको संयुक्त आयोजना र अन्तर्राष्ट्रिय कृषि प्रसार समिति हैदरावाद, भारतको सहआयोजनामा सुरु भएको कार्यक्रम आगामी असोज ७ गते सकिने छ ।

सम्मेलनमा नेपाल, भूटान, भारत, बङ्गलादेश तथा श्रीलङ्काबाट कृषि क्षेत्रका नीति निमार्ता, वरिष्ठ पदाधिकरी, प्राज्ञ किसान, कृषि पसार विज्ञ र विधार्थी गरी करिब चार सय व्यक्तिको सहभागिता छ ।

सम्मेलनमा कृषि प्रसार सेवाका लागि नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूल र साना किसानसम्बन्धी विभिन्न विधामा कुल ८७ ओटा कार्यपत्र प्रस्तुत हुनेछन् ।