no-image

अष्ट्रेलियाको एआईबिट कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले व्यहोरिरहेको अन्यौलप्रति दारी ग्याङ अष्ट्रेलियाले दुःख व्यक्त गरेको छ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै समूहका सचिव सरोज भण्डारीले विद्यार्थीलाई यो स्थितिमा पुर्‍याउने तथा गैरजिम्मेवार काम गर्ने कन्सल्टेन्सी र सम्पर्क व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ।

‘विद्यार्थीहरू विदेशमा गुणस्तरीय उच्च शिक्षा अध्ययनसँगै आफ्नो उज्यालो भविष्य बनाउन घरपरिवार र देश छाडेर सकेको जायजेथा भेला पारी, नसके ऋण सापटी गरी जसरी अध्ययन गर्न यहाँ अष्ट्रेलियामा आएका थिए, आज विद्यार्थीले देखेका ती सपना र सुनौला भविष्यसँग खेलवाड मात्रै होइन, लाखौं लाख नेपालीहरूको लगानी समेत जोखिममा पर्नु भनेको देशकै लागि समेत ठूलो नोक्सानी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गैरजिम्मेवार काम गर्ने कन्सल्टेन्सी र सम्पर्क व्यक्तिहरूले जतिसक्यो चाँडै यो विषयलाई प्रष्ट पार्नुपर्दछ र समस्या समाधानतर्फ अगाडि बढ्नुपर्दछ।’

हजारौं विद्यार्थीको जीवन जोखिममा पार्ने काम अत्यन्तै निन्दनीय रहेको भन्दै संस्थाले जतिसक्यो चाँडो सम्बन्धित कन्सल्टेन्सीले यसको जिम्मेवारी लिँदै जवाफदेहीताका साथ समाधान गर्न समेत अनुरोध गरेको छ।

‘विद्यार्थीहरूलाई जसरी कलेजमा पठाउने बेलामा प्रोत्साहित गर्नुभयो, त्यसरी नै समस्या वा कमजोरीहरू आइपर्दा समाधानका विकल्पमा पनि जानैपर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अष्ट्रेलियामा रहेका सयौं नेपाली संघसंस्थाहरूले गर्ने कार्यक्रमका दर्शक, स्रोता तथा उपभोक्ताहरु भनेको नेपालबाट अध्ययन गर्न जाने यिनै विद्यार्थीहरू नै सबैभन्दा वढी टार्गेट ग्रुप हुन्। त्यसैले विद्यार्थीहरूलाई आ–आफ्नो कार्यक्रममा उपयोग मात्रै गर्ने होइन, उनिहरूलाई समस्या परेको बखतमा साथ, हौसला र समन्वय गरिदिनु पनि महत्वपूर्ण कर्तव्य हो । हामी यहाँ रहेका सम्पूर्ण नेपाली संघसंस्था र त्यसका जिम्मेवार महानुभावज्यूहरूलाई उचित समन्वयका लागि विनम्र अनुरोध गर्दछु।’

विद्यार्थी साथीको पीडा यहाँ रहेका हामी सबै नेपालीहरुको पनि पीडा भएको भन्दै संस्थाले हामी रूँदा हाम्रा अभिभावकहरुको आँसु कति बग्छ होला ? कुन् दुःख र सपना लिएर हामी यहाँ आइपुगेका छौं । त्यसैले नअत्तालिकन धैर्यताका साथ समस्याका विरूद्ध एकजुट हुनुस् र सकरात्मक पहलकदमीमा लागिपर्नुस् भनेको छ।

‘आउनुस् यो दुःखमा हामी तपाई त्यस्ता विद्यार्थीहरू जस जसको भिसा सकिएको छ वा केही दिनभित्रै सकिने अवस्थामा छ, त्यस्ता विद्यार्थी साथीहरूलाई पूनः भिसा आवेदन प्रक्रिया यही काममा लागिरहनुभएका केही सहृदयी मित्रहरूको साथ लिएर हामी दारी ग्याङ अष्ट्रेलियाको तर्फबाट निःशुल्क गरिदिने घोषणा गर्दछौं । सकेको साथ, भरोसा र समन्वयमा हामी पनि तपाइहरूकै साथमा रहनेछौं,’ विज्ञप्तिमा उल्लेख छ।

विद्यार्थीहरूले समस्याको विषयमा कुरा गर्दा कन्सल्टेन्सीका सम्बन्धित महानुभावहरूले पीडामा भरोसा दिनुको सट्टा अनावश्यक धम्क्याउने र छलफल नै गर्न नचाहने भन्ने विषयहरू समेत विभिन्न सञ्चारमाध्यमहरूमार्फत सुनिन आएको भन्दै संस्थाले यस्तो गम्भीर समस्यालाई थप जटीलतातर्फ नलगी सौहार्दपूर्वक समाधानार्थ अनुरोध गरेको छ।

संस्थाले यसका लागि नेपालस्थित सम्बन्धित नियोगहरू, नेपाल सरकार तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई समेत यस विषयमा विशेष ध्यानाकर्षण सहित उचित साथ, समन्वयका लागि अनुरोधसमेत गरेको छ।