प्रतिनिधिसभा र राष्ट्रिय सभाका प्रमुखसमक्ष समृद्धिको मार्गचित्र प्रस्तुत

सो अवसरमा सभामुख महराले आर्थिक समृद्धिका लागि विद्यमान कानुनमा समेत समसामयिक सुधार आवश्यक भएकाले यसतर्फ सरकारसँग आफूले पनि पहल गर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बैशाख २६ गते नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई परिसङ्घले तयार गरेको आर्थिक समृद्धि तथा आवश्यक कानुनी सुधारसम्बन्धी मार्गचित्र प्रस्तुत गरेको छ ।

सो अवसरमा सभामुख महराले आर्थिक समृद्धिका लागि विद्यमान कानुनमा समेत समसामयिक सुधार आवश्यक भएकाले यसतर्फ सरकारसँग आफूले पनि पहल गर्ने धारणा व्यक्त गरे । उनले वर्तमान वस्तुस्थितिमा सरकारलाई परिसङ्घको यस पहलले थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिनिधि सभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमेत उपस्थित उक्त बैठकमा परिसङ्घका अध्यक्षले सभामुख र उपसभामुखलाई मार्गचित्रसहितको दस्तावेज दिँदै निजी क्षेत्रको तर्फबाट परिसङ्घले तयार गरेको यो दस्तावेज पूर्ण नभए पनि विकासको सोचसहित विविध पक्ष समेटेर तयार भएको यस मार्गचित्रले सरकारलाई आर्थिक विकासका एजेन्डा तयार गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसै गरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई पनि सो मार्गचित्र दिइएको थियो । उक्त अवसरमा राष्ट्रिय सभाका अध्यक्षले आम नागरिकको आशा र आकाङ्क्षालाई पूरा गर्न विकास र रोजगारी मात्र मुख्य विकल्प भएकोले यस कार्यमा निजी क्षेत्रबाट तयार गरिएको प्रस्तुत मार्गचित्रले थप सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

दुवै भेटवार्तामा परिसङ्घ—प्रबुद्ध परिषदका संयोजक प्राडा शम्भुराम सिंखडाले उक्त प्रकाशनबारे प्रकास पारेका थिए । भेटवार्तामा परिसङ्घका पदाधिकारी, गभर्निङ काउन्सिलका सदस्य, परिसङ्घ प्रबुद्ध परिषद्का सदस्य तथा राष्ट्रिय परिषदका सदस्यहरुको समेत उपस्थिति थियो ।