बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् ।

डडेल्धुरा जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् ।

बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् ।

तराईमा भन्दा यहाँका काँक्रा स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ । बेमौसमी काँक्राबाट तीन महिनाको अवधिमा एक लाखदेखि दुई लाख रूपैयाँसम्म आम्दानी हुने गरेको अमरगढी–२ का पार्वतीदेवी बोहराले बताइन् ।

“किसानले कम्तीमा ३० हजारभन्दा बढी आम्दानी गर्दैआएका छन्, व्यावसायिक रुपमा काँक्रा लगाउनेको सङ्ख्या बढ्दै गएको छ,” उनले भनिन् । अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु र पर्शुराम नगरपालिकाको चिस्यान कम हुने क्षेत्रमा किसानले बेमौसमी काँक्रा खेती गर्न थालेका छन् ।

आजभोलि यहाँका किसान अन्य काम छोडेर पनि काँक्रा खेती गर्न थालेका छन् । काँक्रा बिक्री गर्न बजारको समस्या छैन । किसानले प्रतिकिलो काँक्रा २० देखि ३० रूपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । अहिले बजारमा काँक्रा प्रतिकिलो ४० रूपैयाँमा बिक्री गरिरहेको बसपार्कका व्यापारी पदमबहादुर सार्की बताउँछन् ।

सरकारी तथा गैरसरकारी संघसंस्थाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि बेमौसमी काँक्रा खेती गर्ने किसानको संख्यामा वृद्धि हुँदै गइरहेको अमरगढी कृषि विकास शाखाका अधिकृत टेकबहादुर बिष्टले बताए । रासस