सरकारी र निजी क्षेत्रले यकिन तथ्याङ्क सङ्कलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा दुई खर्बभन्दा बढी रूपैयाँ लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ ।
औद्योगिक क्षेत्र बनिनसके पनि चितवन जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । दुई खर्ब रूपैयाँभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।
सरकारी र निजी क्षेत्रले यकिन तथ्याङ्क सङ्कलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा दुई खर्बभन्दा बढी रूपैयाँ लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ ।
पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार देशभरमा पोल्ट्री क्षेत्रमा ८० अर्ब रूपैयाँभन्दा बढी लगानी छ । ४० अर्ब रूपैयाँभन्दा बढी लगानी चितवनमा मात्रै छ । दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो । दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन् ।
पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको छ । सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठूला होटल रहेका छन् । त्यसैगरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटल एवम् पार्टी प्यालेसमा ठूलो लगानी भएको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा १ सय ५४ अाेटा पर्यटकीय होटल छन् । सो क्षेत्रमा १५ अर्बभन्दा बढी लगानी भएको अनुमान गरिएको उनले बताए ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी भएको देखिएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेका अनुसार सो मेडिकल कलेजमा मात्रै चार अर्ब रूपैयाँ लगानी भएको छ । एउटा मेडिकल कलेज र २२ अाेटा निजी अस्पताल जिल्लामा छन् । मेडिकल कलेज र निजी अस्पतालमा गरी १५ अर्ब रूपैयाँभन्दा बढी लगानी भएको अनुमान छ ।
शिक्षा क्षेत्रमा पनि जिल्लामा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष देशबन्धु अधिकारीका अनुसार जिल्लामा रहेका १ सय ८० निजी विद्यालयमा १० अर्बभन्दा बढी लगानी छ । त्यस्तै प्राविधिक कलेजहरुमा पनि ठूलो लगानी रहेको कलेजका सञ्चालकहरु बताउँछन् । युनाइटेड टेक्निकल कलेज भरतपुरका अध्यक्ष चूडामणि खनालका अनुसार प्राविधिक कलेजमा तीन अर्बभन्दा बढी लगानी भएको छ ।
उद्योग वाणिज्य महासङ्घ प्रदेश ३ का उपाध्यक्ष एवम् उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमका अनुसार जिल्लाका उद्योगको यकिन तथ्याङ्क सङ्कलन नभए पनि करिब चार हजारभन्दा बढी उद्योग सञ्चालनमा छन् ।
गौतमका अनुसार एक अर्ब रूपैयाँभन्दा बढी लगानी भएका उद्योगको सङ्ख्या २५ भन्दा बढी छ भने ५० करोड रूपैयाँभन्दा बढी लगानी भएका उद्योग सय, २५ करोड रूपैयाँभन्दा बढी लगानी भएका उद्योग २ सय, १० करोडभन्दा बढी लगानी भएका उद्योग ४ सय र एक करोडभन्दा बढी लगानी भएका उद्योग ८ सय छन् । एक करोड रूपैयाँभन्दा कम लगानीमा सञ्चालन भएका उद्योगको सङ्ख्या तीन हजारभन्दा बढी भएको गौतमले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म दर्ता भएका उद्योगको सङ्ख्या नौ हजार ६ सय ६३ छ । कार्यालयमा सेवा क्षेत्रका फार्मसमेत दर्ता हुने गर्छन् । सो कार्यालयको तथ्याङ्कअनुसार उद्योग एवम् फार्ममा १३ अर्ब ९५ करोडभन्दा बढी रूपैयाँ लगानी भएको छ । अधिकांश ठूला उद्योग कम्पनीमा दर्ता भएकाले ती उद्योगको यकिन तथ्याङ्क जिल्लामा उपलब्ध हुन नसकेको हो ।
उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले जिल्लाका उद्योगमा दुई खर्ब रूपैयाँभन्दा बढी लगानी भएको बताए । पोल्ट्री, होटल, हस्पिटल, शिक्षासँगै उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको उनको भनाइ छ । जिल्लामा तीन अाेटा बियर उद्योग छन् भने मदिराका उद्योग, बोटलर्स नेपाल (तराई) लि, फर्माटिकल्सहरु, प्लाष्टिकजन्य उत्पादन, कृषिजन्य उद्योगजस्ता पाता, ब्लक, फर्निचर, चाउचाउ, फलामलगायतका उद्योग रहेको उनले बताए ।
दुवाडीका अनुसार शक्तिखोरमा निर्माण हुन लागेको शक्तिखोर औद्योगिक क्षेत्र सुरु भएपछि थप दुई खर्ब रूपैयाँ लगानी हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा एक हजार उद्योग सञ्चालन गर्न सकिने भन्दै उनले पुराना ५ सय उद्योग र नयाँ ५ सय उद्योग त्यहाँ रहने बताए ।
देशमै सबैखाले उद्योगको क्षेत्रमा सबैभन्दा बढी लगानी भएको जिल्ला चितवन हो । देशभरका बासिन्दाको सङ्गमथलो चितवन भएकाले उद्योगमा पनि विविधता भएको उनले बताए ।
उद्योग सङ्घले नवलपुर र मकवानपुरलाई चितवनमा जोडेर औद्योगिक र आर्थिक राजधानी बनाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको दुवाडीले बताए । काठमाडौँं साँघुरो भएकाले काठमाडौँ र देशकै लागि चाहिने उत्पादन गर्ने क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने उनले बताए ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले औद्योगिक वातावरण जिल्लामा रहेकाले लगानी गर्ने क्रम बढेको बताए । शक्तिखोर औद्योगिक क्षेत्र बनेसँगै उद्योगमा थप लगानी हुने उनको भनाइ छ ।
पछिल्लो समय कोरिया र चीनका लगानीकर्ताले जिल्लामा उद्योगको क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै आएका छन् । रासस