समृद्धिका लागि नयाँ सोचका साथ बजेट तर्जुमा गर्न सांसद चौधरीको आग्रह

‘सिद्धान्तका कुरा मात्रै गरेर अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन । सिद्धान्तका कुरा धेरै भए, अब व्यवहारमा काम गरेर देखाउनुपर्ने समय आएको छ’, सांसद चौधरीले सरकारलाई सुझाव दिँदै भने, ‘बजेट कार्यान्वयन हुने प्रत्याभूतिका साथ ल्याइनुपर्छ । विगतमा जस्तो पुँजीगत खर्च नै नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।’

नेपाली कांग्रेसका नेता एवम् सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवद्र्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै सांसद चौधरीले आन्तरिक एवम् बाह्य लगानी अभिवृद्धिबाट मात्रै आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सम्भव हुने भएकाले यसतर्फ बजेटले विशेष ध्यान पु¥याउनु पर्नेमा जोड थिए ।

‘सिद्धान्तका कुरा मात्रै गरेर अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन । सिद्धान्तका कुरा धेरै भए, अब व्यवहारमा काम गरेर देखाउनुपर्ने समय आएको छ’, सांसद चौधरीले सरकारलाई सुझाव दिँदै भने, ‘बजेट कार्यान्वयन हुने प्रत्याभूतिका साथ ल्याइनुपर्छ । विगतमा जस्तो पुँजीगत खर्च नै नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।’

तीनै तहको निर्वाचन सम्पन्न भएको र आर्थिक समृद्धिको अभियान अगाडि बढाउने जिम्मेवारीमा अर्थमन्त्री रहेको भन्दै सांसद चौधरीले भने, ‘अर्थमन्त्रीज्यू नयाँ सोच र दृष्टिकोणका साथ बजेट तर्जुमा गर्नुस् । तपाईंको सफलतासँग हाम्रो भविष्य गाँसिएको छ ।’

नेपालमा लगानी अभिवृद्धि गर्न विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन पनि उनले आग्रह गरे । ‘चीन र भारतले सेजकै माध्यमद्वारा विश्वका लगानीकर्तालाई आकर्षित गर्न सम्भव छ भने नेपालले किन यसो गर्न सक्दैन ?’ सांसद चौधरीले भने, ‘सेजको नाम दिएर मात्रै हुँदैन । सेजको मर्मअनुसार कार्यान्वयनमा ल्याउनुपर्छ ।’

नेपालका एक्ला बहुराष्ट्रिय उद्यमी समेत रहेका सांसद चौधरीले सेजमा स्थापना हुने उद्योगलाई निश्चित रोजगारी उपलब्ध गराउने सर्तमा टयाक्स रिमिसनको सुविधा दिनुपर्नेमा जोड दिए । लगानी आकर्षित गर्न भारत, चीन र युरोपियन राष्ट्रहरूले समेत अहिले लगानीकर्तालाई यो सुविधा दिइरहेका छन् । यसो गर्दा कर छुट दिइरहनु पर्दैन । लगानीकर्तालाई निश्चित अवधिसम्म क्यापिटल फर्मेसनमा सुविधा दिए हुन्छ । लगानीकर्ताले पुँजी परिचालन गर्न पनि सहज हुने र सरकारले कर पनि पाउने यो व्यवस्था अहिले विश्वभर लोकप्रिय छ ।

सरकारले आफै उद्योग धन्धा चलाउने नभई लगानीका लागि वातावरण बनाइदिने काम गर्नुपर्छ । ‘सरकारले आफै उद्योग चलाउँदा के अवस्था हुन्छ भन्ने कुरा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना र हाल चलिरहेका नेपाल आयल निगम लगायतका संस्थानलाई हेर्दा प्रष्ट हुन्छ,’ सांसद चौधरीले भने, ‘बजेट बनाइरहँदा स्पष्ट सोचका आधारमा अगाडि बढ्न आवश्यक छ ।’ सांसद चौधरीले निजी क्षेत्रका पनि कमजोरी छन् भन्दै यसको अनुगमन र उनीहरूलाई सही बाटोमा ल्याउने जिम्मेवारी सरकारको रहेको बताए ।

लगानी प्रवद्र्धन गर्न लगानी बोर्डको भूमिका प्रभावकारी बन्न आवश्यक रहेकोमा सांसद चौधरीले जोड दिए । लगानी आकर्षित गर्न नीति बनाउने, लगानी जुटाउने र यहाँ लगानी भइसकेकाहरूको समस्या सम्बोधन गर्ने जिम्मेवारीलाई लगानी बोर्डले प्रभावकारी रूपका कार्यान्वयन गर्न सक्नुपर्छ । मन्त्रालयहरूसँग क्षेत्राधिकारको विवादमा रुमलिएर बस्न लगानी बोर्ड स्थापना गरिएको होइन, सांसद चौधरीले भने ।

आर्थिक समृद्धि हासिल गर्न घडीको सुईको रफ्तारमा काम गर्न आवश्यक भएको भन्दै सांसद चौधरीले यसका लागि शासकीय सुधार गर्नै पर्नेमा जोड दिए । ‘आर्थिक समृद्धिका लागि सुशासनको दयनीय अवस्था चुनौतीका रुपमा छ । नीति, योजना र कार्यक्रमसँगै कर्मचारीतन्त्रको काम गर्ने शैलीमा परिवर्तन ल्याउन पनि उत्तिकै जरूरी छ’, उनले भने ।