हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै ४० करोड र बाँकी तरकारी तथा मकैमा दुई करोड ५० लाख रूपैयाँको क्षति भएको कार्यालयका प्रमुख सुधीर श्रेष्ठले बताए ।

चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा ४२ करोड ५० लाख रूपपैयाँको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार केरामा मात्रै ४० करोड र बाँकी तरकारी तथा मकैमा दुई करोड ५० लाख रूपैयाँको क्षति भएको कार्यालयका प्रमुख सुधीर श्रेष्ठले बताए ।

“अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्याङ्क आएको छ”, श्रेष्ठले भने, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उनले विवरण सङ्कलनको काम जारी रहेको बताए । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा यसरी नोक्सान गरेको हो ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै २० करोड रूपैयाँको केरा क्षति भएको जानकारी दिए । त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।

उनले ६ सय २० केरा किसानमध्ये करिब ५ सय जनाको क्षति भएको जानकारी दिँदै अहिलेसम्म बिमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेकाे बताए । अरू सयौँ किसानको बिमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य छन् ।

उनीहरुले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन् । बिमा गर्ने शिखर इन्सुरेन्स कम्पनीले शतप्रतिशत क्षति भएका किसानका लागि एक महिनाभित्र क्षतिपूर्ति दिनेगरी स्थालगत अनुगमन गरिरहेको पन्तले बताए । पन्तले आफ्नो सात बिघामा ५० प्रतिशत र अर्काे १६ बिघाको प्लटमा २५ प्रतिशत केरा क्षति भएको जानकारी दिए ।

स्थानीयवासी शङ्कर सुवेदीले करिब ६० लाख रूपैयाँभन्दा बढीको केरा क्षति भएको दाबी गरे । २३ वर्षको इतिहासमै सबैभन्दा बढी केरामा नोक्सान भएको मानिएको छ । तस्बिरः रासस