कालो धन बढी भएका विश्वका १० देश

विश्वमा सबैभन्दा बढी कालो धन अमेरिकामा छ । अमेरिकामा बजारको एउटा ठूलो खण्ड अवैध गतिविधिहरुमा निर्भर छ । अमेरिकामा लागूऔषध तथा हातहतियारको अवैध व्यापार उच्च छ ।

अवैध तरिकाले अथवा गैरकानुनी गतिविधिहरुबाट कमाएको सम्पत्तिलाई ‘कालो धन’ भनिन्छ । कालो धन आयको एउटा यस्तो स्रोत हो, जुन कुनै पनि देशको सरकारले परिभाषित गरेको कानुनको उल्लङ्घन गरेर प्राप्त हुन्छ । सामान्य अर्थमा भन्दा गैरकानुनी कमाइको एक मात्र उद्देश्य कर तिर्नबाट जोगिने हुन्छ । सरकारी प्रणालीभन्दा बाहिर गएर गरिने कुनै पनि व्यापार व्यवसाय, जहाँ सरकारलाई कुनै तिरो तिरिँदैन त्यसलाई गैरकानुनी कारोबार पनि भनिन्छ । तर, छिटो धनी बन्ने चाहनामा सरकारले खास खास प्रकृतिका बन्देज लगाइएका वस्तु र सेवाहरुको कारोबारबाट अवैध रुपमा आम्दानी प्राप्त गर्ने गरिन्छ । यसलाई गैरकानुनी र आपराधिक क्रियालापका रुपमा सम्बन्धित सरकारले कानुनद्वारा नै व्याख्या गरेको हुन्छ ।

विश्वमा सबैभन्दा बढी कालो धन अति बलियो अर्थव्यवस्था भएका मुलुकहरुमा रहेको अध्ययनहरुले देखाएका छन् । जुन मुलुकहरुले ससाना मुलुकमा शासन गर्न विभिन्न किसिमका कार्य गर्नुहँुदैन भन्ने गर्छन्, तिनै मुलुकमा अवैध क्रियाकलाप बढी हुन्छ र गैरकानुनी कमाइ हिस्सा धेरै हुने गरेको अध्ययनहरुले देखाउँछन् । निहित स्वार्थका लागि राज्यका नियमकानुनलाई लत्याएर गरिने भूमिगत व्यापारलाई कालोबजारी भनेर व्याख्या गरिन्छ । ‘भूमिगत अर्थव्यवस्था’ या ‘कालो अर्थव्यवस्था’ भनेर चिनिने यो कालोबजार सबैभन्दा मायावी ठाउँ हो, जहाँ कानुनको कुनै आधार हुन्न । अत्याधुनिक हाइटेक हातहतियार, सुन, औषधि, लागूपदार्थ तथा मानव तथा जनावरको अङ्गको व्यापार कुनै सरकारको देखरेखबिनै अवैध रूपले हुन्छ । अवैध व्यापार गर्नु कुनै राज्य विशेषलाई बाध्यता नभए पनि यो त एउटा विश्वव्यापी घटना बनिसकेको छ,र उसको मार्गमा आउने हरेक वस्तु तथा शक्तिलाई बर्बाद पार्ने गर्छ ।

विश्वमा कालो धनका स्रोतका रुपमा स्विस बैङ्क, पनामा पेपर्स, एचएसबीसी लिक्स, दोहोरो करप्रणाली र कडा सरकारी नीतिलाई लिइँदै आएको छ । जसले विदेशमा अवैध धन राखेका छन्, तिनको आदर्श हो स्विस बैङ्क । उनीहरुलाई स्विस बैङ्कमा पैसा राखेबापत गोपनीयताको सुरक्षा दिइएको हुन्छ । त्यसैगरी, स्वतन्त्र पत्रकारहरुको एउटा समूहद्वारा प्रकाशित गरिएको पानामा पेपर्सले राजनीतिक व्यक्तिहरुले भ्रष्टाचार गरी कमाएका सम्पत्ति अवैध तरिकाले विदेश लगिएकोबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसपछि विश्वमा कसरी कालो धनको कारोबार मौलाएको भन्ने बहस सुरु भएको थियो ।

२०७२ चैतमा उत्तर अमेरिकी मुलुक पनामामा सेल कम्पनी (ब्रोके अर्थात् छायाँ कम्पनी) खोलेर नेपालीले समेत कालो धन सेतो बनाउने गरेको तथ्य खुलासा ग¥यो । सो सूचीमा सात जना नेपालीको नाम राखे पनि उनीहरुको कारोबार भएन खुलाएन । ट्याक्स हेभन भनिने यस्ता मुुलुकमा रकम जम्मा गर्न स्रोत खोल्नुपर्दैन र सेल कम्पनीमार्फत कारोबार देखाएर वैदेशिक लगानीका नाममा धन मुलुकभित्र ल्याउने गरिन्छ ।

स्विस लिक अर्को स्रोत हो, जसले विश्वभरि सबैभन्दा बढी कालो धन वितरण गरेको देशबारे खुलासा गरेको थियो । यसले २०७१ म एचएसबीसी बैङ्कको स्विट्जरल्यान्डस्थित एउटा शाखामा दुई सय तीन मुलुकका एक लाखभन्दा बढी सेवाग्राहीको एक खर्बभन्दा अमेरिकी डलर लुकाएर राखेको सार्वजनिक गरेको थियो, जसमा नेपालीहरुको नाममा साढे पाँच अर्ब डलर देखिएको थियो । अर्को स्रोतका रुपमा इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीईजे)ले पनि ट्याक्स हेभन मुलुकमा रहेको सम्पत्तिका बारेमा सार्वजनिक गर्ने गर्छ । विश्वभरको शङ्कास्पद कारोबारमाथि ग्लोबल फाइनान्सियल इन्टिग्रिटी (जीएफआई)ले बेलाबेलामा अध्ययन गर्ने गर्छ । हुन त दोहोरो कर सम्झौताले केही देशमा कलो धन कमाउने व्यक्तिहरुको सुरक्षा पनि गरेको पाइन्छ । विश्वका अविकसित राष्ट्रहरु कालोबजारको मुख्य हब मानिन्छन् किनकि, ती मुलुकमा कानुन व्यवस्थाको फितलो कार्यान्वयन र अराजकता व्याप्त हुन्छ । तर, विश्वास गर्न बडो कठिन के छ भने अध्ययनहरुले संसारमा अत्यधिक कालोबजारी सबैभन्दा बढी विकसित देशमा हुने गरेको छ । कालो धनको खेती हुने सूचीको पहिलो नम्बर संयुक्त राज्य अमेरिका र त्यसपछि चीन र त्यसपछि मेक्सिको छ ।

हरेक देशले ग्राहकहरुलाई करको दायरामा ल्याई सो करबाट प्राप्त धनको सहयोगले आफ्नो अर्थव्यवस्थालाई जोगाउने कोसिस गर्छन् । तर पनि कतिपय विकासशील देशहरुका लागि यो एउटा चुनौतीका रुपमा रहँदै आएको छ । र, अवैध व्यवसाय तथा कर चुहावट सरकारका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । विदेशमा सम्पत्तिको अवैध हस्तान्तरण रोक्न विश्वका हरेक सरकारले नीतिहरु तर्जुमा गरिरहेका छन् । र, सबै लेनदेन एउटा प्रणालीबाट मात्र होस् भनी सुनिश्चितता खोजरहेका छन् ।

१. संयुक्त राज्य अमेरिका

विश्वमा सबैभन्दा बढी कालो धन अमेरिकामा छ । अमेरिकामा बजारको एउटा ठूलो खण्ड अवैध गतिविधिहरुमा निर्भर छ । अमेरिकामा लागूऔषध तथा हातहतियारको अवैध व्यापार उच्च छ । अमेरिकामा कैयौं भ्रष्ट व्यक्तिहरु अवैध तरिकाले धन कमाउँछन् र फेरि बैङ्कमा बचत गर्छन् । अन्य देशहरुले पनि गैरकानुनी ढङ्गले कमाएको पैसालाई कानुनी बनाउन अमेरिकी बैङ्कहरुमा पैसा पठाउँछन् । अमेरिकी बैङ्कहरुसँग अन्य मुलुकका व्यक्तिहरुले जम्मा गरेको ठूलो धनराशि सञ्चित छ । तर, अरु मुलुकमा कालो धन कमाउने स्रोत बन्द गर्न र कमाइको स्रोत पहिचान गराउन अमेरिकाले ठूलो दबाब दिने गर्छ । अमेरिकामा मात्रै ६ खर्ब २६ अर्व ४६ करोड अमेरिकी डलरभन्दा बढी कालो धन भएको अध्ययनहरुले देखाएका छन् । यो चीनमा भएको अवैध धन्दा झन्डै तेब्बर हो ।

२. चीन

उदाउँदो महाशक्ति राष्ट्र र विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीन पनि कालो अर्थव्यवस्था भएको सूचीमा दोस्रो स्थानमा छ । चीनमा २ खर्ब ६० अर्ब ५७ करोड अमेरिकी डलर भूमिगत अर्थव्यवस्था भएको आकलन छ । यो तुलनात्मक रुपमा अमेरिकी कालो अर्थव्यवस्थाभन्दा कम हो ।

३. मेक्सिको

अमेरिकासँग सीमा जोडिएको मेक्सिको जहाँजहाँ कानुनको पालना गर्न खासै कडाइ गरिँदैन । त्यसैले मेक्सिकोको एउटा सीमादेखि अर्को सीमासम्म कालोबजार विस्तार गर्न सहज हुने गरेको अध्ययनहरुले देखाउँछन् । मेक्सिकोले औषधि तथा हानिकारक अप्रमाणित रसायनको व्यापारका माध्यमले केही अवैध व्यापारिक गतिविधि गर्न आफ्नो भूमि प्रयोग गर्ने गरेको पाइन्छ । मेक्सिकोमा कालो धनको अर्थव्यवस्था करिब १ खर्ब २६ अर्ब डलरको रहेको अनुमान छ । यसले अवैध व्यापार विस्तारमा मेक्सिको विश्वमा तेस्रो स्थानमा छ ।

४. स्पेन

स्पेनमा फैलिँदो भ्रष्टाचारले देशमा कालोबजार विस्तारमा कोसे ढुङ्गाको काम ग¥यो । यसले देशको वास्तविक अर्थव्यवस्थालाई निकै हानि पु¥याएको छ र देशमा ठूलो सङ्कट ल्याएको छ । स्पेनमा भूमिगत अर्थव्यवस्था १ खर्ब २४ अर्ब ६० करोड डलरबराबर रहेको अनुमान छ, जुन स्पेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २४.६ प्रतिशत हो ।

५. इटाली

इटलीको भूमिगत अर्थव्यवस्था १ खर्ब ११ अर्ब १२ करोड डलर भएको अनुमान छ, जीडीपीको १७.४ प्रतिशत हुन आउँछ । वास्तविक अर्थव्यवस्थाको प्रगतिका लागि यो ठूलो चुनौती हो । बितेको दशकले इटालीमा कालोबजार विस्तारले तीव्रता पाएको प्रमाणित गरेको छ ।

६. जापान

जापानमा कालोबजारको आकार पछिल्लो समय खुम्चिँदै गएको अनुमान छ । तर, अझै पनि १ खर्ब ९ अर्ब ८४ करोड डलर भूमिगत अर्थव्यवस्था आकलन गरिएको छ । ९० को दशकमा जापानको अवैध अर्थव्यवस्था चरमोत्कर्षमा पुगेर जीडीपीको २५ प्रतिशतसम्म पगेको थियो । तर, पछि अपराध नियमन गर्ने कानुन पारित भएसँगै गैरकानुनी व्यापारका लागि प्रतिकूलता सुरु भएको बताइन्छ ।

७. क्यानडा

क्यानडा राजस्व एजेन्सी (सीआरए)द्वारा हालै जारी एक प्रतिवेदनअनुसार कुल अवैध व्यापारको भूमिगत गतिविधि लगभग ७७ अर्ब ८३ करोड डलरबराबर छ । यो क्यानडाको इतिहासमै सबैभन्दा बढी भूमिगत अर्थव्यवस्था भएको समय हो । यो गैरकानुनी अर्थव्यवस्था जीडीपीको २.३ प्रतिशत हो । प्रतिवेदनले क्यानडामा सरकारलाई कर नतिर्ने र देशभित्र तथा बाहिर अवैध लेनदेन गर्ने ठूलो समूह नै रहेको उल्लेख गरेको छ ।

८. भारत

दक्षिणपूर्वी एसियामा सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो, भारत । नेपालसँग खुला सिमाना भएको भारतमा भूमिगत कालोबजारको वृद्धि राम्रैसँग बढेको पाइन्छ । भ्रष्ट व्यापारी, राजनीतिज्ञ तथा कर्मचारीहरुले स्विस बैङ्कमा अर्बौं डलर जम्मा गर्ने गरेको तथ्यहरु बाहिरिएका छन् । भारतमा भूमिगत अर्थव्यवस्था ७० अर्ब ८२ करोड डलर भएको अनुमान छ । एसियामा भारतलाई तेस्रो ठूलो कालोबजारको केन्द्र मानिन्छ ।

९. संयुक्त अधिराज्य बेलायत

हालैको एउटा प्रतिवेदनअनुसार बेलायती बैङ्क नोटको लगभग आधा भाग कालोबजारले ओगटेको छ । नगद पैसाको महङ्खवपूर्ण भाग कालोबजारका प्रमुख हर्ताकर्ताहरुले चलाएका हुन्छन् । बेलायतको कालोबजार लगभग ६१ अर्ब ६० करोड डलर भएको अनुमान छ । बेलायतको कालोबजारले अवैध हातहतियारहरुको व्यापारलाई आधार दिने गर्छ ।

१०. रुस

विश्वको पूर्व महाशक्ति राष्ट्र रुसले सीमापार अवैध व्यापारलाई अझैसम्म आधार दिइरहेको छ । रुसी कालोबजारले उच्च प्रविधिका हाइटेक मेसिन तथा हातहतियार उपलब्ध गराउन अग्रणी भूमिका खेलेको पाइन्छ । रुसमा ४९ अर्ब ९ करोड डलरबराबरको भूमिगत अर्थव्यवस्था रहेको अनुमान छ । ‘यो रूसको दोस्रो अर्थव्यवस्था हो,’ रूसी समाजमा भूमिगत अर्थव्यवस्थाबारेको यो भनाइ निकै प्रचलित छ ।