कम्पनीले चालू आव २०७४/०७५ को चैत मसान्तसम्म ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ नाफा गरेको छ ।
नेपाल टेलिकमको नाफा चालू आर्थिक वर्षको नौ महिनामा ५३ करोड रुपैँयाले बढेको छ । कम्पनीले चालू आव २०७४/०७५ को चैत मसान्तसम्म ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ नाफा गरेको छ । टेलिकमले गत आवको सोही अवधिमा ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो । यो अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य देखिएको हो ।
कम्पनीले गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण पनि हालै सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ भने गत आवको वर्षको सोही अवधिको चैत मसान्तसम्म कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो । यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ ।