मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन सुरु गरेका हुन् । अहिले उनको खोरमा ७० भन्दा बढी बाख्रा छन् । दुई दशकको अवधिमा उनले २ सयभन्दा बढी बाख्रा बिक्री गरिसकेका छन् ।
रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन सुरु गरेका हुन् । अहिले उनको खोरमा ७० भन्दा बढी बाख्रा छन् । दुई दशकको अवधिमा उनले २ सयभन्दा बढी बाख्रा बिक्री गरिसकेका छन् ।
“आम्दानी राम्रै भएको छ, घर चलाउन अरु केही गर्नु परेको छैन,” तामाङले भने, “लगानी पनि धेरै गर्नु परेको छैन, चरनको भरमा चलिरहेको छ ।”
स्थानीय रैथाने जातको बाख्राबाट एक वर्षमा २० भन्दा बढी खसीबोका बेच्ने गरेको उनी बताउँछन् । “एउटै खसीबोकाको आठदेखि १५ हजार रूपैयाँसम्म लिएको छु,” उनले भने, “बाख्राकै आम्दानीबाट बचतसमेत गरेको छु ।”
मुख्य पेशा बाख्रापालन बनाएका तामाङले सामाजिक संस्था तथा सरकारीस्तरबाट केही सहयोग नपाएको गुनासो गरे । चरनको भरमा हुर्केका र औषधिसमेत नखुवाई पालिएका भएर उनले पालन गरेका खसीबोका खरिद गर्न ग्राहक घरसम्म नै पुग्ने गरेका छन् ।
“अधिकांश नुवाकोट र रसुवाबाट ग्राहक आउने गरेका छन्, माग पूरा गर्न सकिरहेको छैन,” उनले भने । मैलुङका अधिकांश किसानले बाख्रापालन तथा पशुपालनमार्फत जीविका चलाउँदै आएका छन् । रासस