नेपाल र भियतनामवीच दौत्य सम्बन्धको ४३ बर्ष, राजधानीमा गरियो कार्यक्रम

नेपाल तथा समाजवादी गणतन्त्र भियतनाम वीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेको सुअवसरमा काठमाडौंमा मंगलबार “द्विपक्षीय व्यापार तथा पर्यटन अवसर” विषयक कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकर दास वैरागीले आर्थिक कुटनिटीको माध्यमबाट नेपाल सरकारले विभिन्न मुलुकहरुसंग व्यापार, वाणिज्य, पर्यटन, प्रविधि हस्तान्तरण आदि क्षेत्रको विस्तारका लागि कार्य गर्दै आएको कुरा बताए । ‘नेपालमा लगानी बृद्धि गर्ने तथा आर्थिक सम्बृद्धिका लागि सरकार लागि परेको छ,’ उनले भने । यस कार्यमा नीजि क्षेत्रको समेत ठुलो भुमिका हुने हुँदा सल्लाह सुझाव लिई सरकार सहकार्य गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष दिपक मल्होत्राले दुई देश वीचको आर्थिक, व्यापारिक तथा पर्यटन बृद्धिका लागि संघले विविध कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको बताए । ‘भियतनामले छोटो अवधिमा उत्पादन तथा उद्योगमा धेरै विकास गरेको र नेपालले पनि आर्थिक बृद्धिका लागि उत्पादकत्व बृद्धिमा जोड दिनु पर्छ,’ उनले भने ।
नेपालका लागि भियतनामका अवैनतिक वाणिज्यदुत राजेशकाजी श्रेष्ठले दुई देश वीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्ष पुगेकोमा शुभकामना व्यक्त गर्दै दुई देश वीच सिधा हवाई सम्पर्क स्थापना, लगानी विस्तार तथा पर्यटन विस्तारमा कन्सुलेटले पहल गर्दै आइरहेको कुरामा जोड दिए ।