बीमा शिक्षालाई देशका कुनाकाप्चासम्म पुर्याउनुपर्छः अर्थमन्त्री

बिमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री डा युवराज खतिवडाले बिमा शिक्षालाई वित्तीय सारक्षरताकै अङ्गका रुपमा देशका कुनाकाप्चासम्म पुर्याउन निर्देशन दिएका छन् ।

बिमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री डा खतिवडाले बिमाको आवश्यकताबारे आम जनजीवनमा बोध नभएसम्म यस क्षेत्रको दायरा फराकिलो हुन नसक्ने उल्लेख गर्दै बिमा समितिले बिमा बजारको स्वच्छ विकासमा सहयोग गर्नुपर्ने बताए ।

बिमा क्षेत्र प्रतिस्पर्धी देखिए पनि अहिलेसम्म १० प्रतिशत जनसङ्ख्यामा मात्र बिमा पुगेको छ, उनले भने, “९० प्रतिशत जनतामा अझै बिमा नपुग्नु र कुल गार्हस्थ्य उत्पादनमा २ प्रतिशत मात्र योगदान गर्नुलाई सन्तोष मान्न सकिँदैन ।”

सो अवसरमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको विकास र समृद्धिका लागि जीवन र पेसा व्यवसायमा आउन सक्ने जोखिम न्यूनीकरण गर्दै आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्ने बताए ।

ठूलादेखि साना र मध्यमस्तरीय व्यवसायलाई समेटेर बिमा क्षेत्रको विस्तार गर्नुपर्ने बताउँदै उनले न्यून आय भएका व्यक्ति तथा ग्रामीण क्षेत्रका जनतालाई बिमाले समेट्नुपर्ने धारणा व्यक्त गरे ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमा समितिले गरेका नीतिगत तथा प्रक्रियागत परिवर्तनका कारण एक वर्षमा तीन प्रतिशत जनतालाई बिमाको दायरामा ल्याउन सफल भएको दाबी गरे ।

हाल देशमा १८ जीवन, १९ निर्जीवन र एक पुनर्बिमा गरी ३८ अाेटा बिमा कम्पनी सञ्चालनमा छन् । तस्बिरः नवीन पौडेल, रासस