देशभित्र पत्थर उत्खनन गरि निर्यात गर्नुपर्नेमा तीन मुख्यमन्त्रीको जोड

प्रदेशमा रहेका प्राकृतिक स्रोतको उपयोग र उत्खनन गरेर निर्यातलाई बढाउनुपर्नेमा तीन मुख्यमन्त्रीले एउटै मन्चबाट धारणा राखेका छन् । सात ओटै प्रदेशको आर्थिक विकासका लागी प्राकृतिक स्रोतको खोजी गर्ने र त्यसलाई उपयोग गरेर निर्यात बढाउने विषयमा तीन मुख्य मन्त्री एकैठाउँमा उभिएका हुन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बुधबार राजधानीमा आयोजना गरेको निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापनमा आभूषण क्षेत्रको योगदान ः संभावना र उपाय विषयक वृहत राष्ट्रिय सम्मेलनमा बोल्दै तीन मुख्य मन्त्रीले आर्थिक विकासमा केन्द्रिय सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने विषयमा जोड दिए । सो अवसरमा उनीहरुले सातै प्रदेशमा स्वदेशी रत्न पत्थरको उत्खनन, तथा प्रशोधनका लागी सम्भाव्यता अध्ययन गरी देशमा निर्यात, रोजगारी सिर्जना, राजश्वमा बृद्धिका लागि काम थाल्नुपर्ने बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निर्यात प्रवद्र्धनका निम्ति स्वदेशी रत्न पत्थरको उत्खनन तथा प्रशोधन गर्दै निर्यात गर्नुपर्ने बताए । ‘देशमा भएका बहुमूल्य पत्थरका खानीलाई उत्खनन गरी विदेशी मुद्रा आर्जन गर्नुपर्छ,’ उनले भने । उद्योगी व्यवसायी सरकारको फितलो नीति नियमका कारण चपेटामा पर्दै आएको चर्चा गर्दै मुख्यमन्त्री राउतले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले मुलुकको समृद्धिका लागि सातै प्रदेशमा रहेका आर्थिक विकासका सम्भावनाहरुको पहिचान हुनुपर्नेमा जोड दिए ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले मुलुकलाई आर्थिक समृद्धिकाल लागि निर्यात प्रवद्र्धन गर्नुपर्ने बताए । ‘अहिले मुलुकको बाह्य व्यापारको अनुपात आयात ९३ प्रतिशत र निर्यात ७ प्रतिशत छ ।’ उनले भने, ‘त्यस्का लागि सुन चाँदी महासङ्ले आयातलाई प्रतिस्थापन गर्दै वस्तु निर्यातमा ठूलो भूमिका खेल्दै आएको छ ।’ उनले स्वदेशी रत्न पत्थरको उत्खनन् प्रशोधनको माध्यमबाट आन्तरीक तथा वाह्य लगानी र उच्च प्रविधिको प्रयोग गर्दै देशमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

त्यस्तैगरी कार्यक्रममा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुक संघीयतामा गइसकेकाले आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गदै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए । ‘आर्थिक समृद्धि सरकार एक्लैले गर्ने कुरा होइन । त्यस्का लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।’

नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपालमा सुनको आयातलाई सरकारले मात्र एकाधिकार राख्ने नहुने बताए । ‘सुन आयातमा सरकारले एकाधिकार राख्ने तर, घुसपैठको दोष व्यवसायीको थाप्लोमा थुपार्ने गर्नुभएन,’ उनले भने । कच्चा सुन आउँनै नदिने तर, तयारी गहना ल्याउन पाउने जस्ता विसंगति भित्रिएकोले स्व्देशको गहना व्यापार संकटमा पर्न थालेको उनले बताए ।