निगमले तोकेको मूल्यमा पेट्रोलियम पदार्थ नबेचे लाइसेन्स खारेज

निगमले विराटनगर, थानकोट, चारआली, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीका डिपोबाट १५ किलोमिटर वरिपरीका पम्पले पेट्रोल एक सय ८ रुपैयाँ ५० पैसा प्रतिलिटर तथा डिजेल र मट्टीतेल ९० रुपैयाँ ५० पैसामा बेच्नुपर्छ । तोकिएको मूल्यमा बिक्री नगरे पम्पको लाइसेन्स खारेज गर्ने निगमले जनाएको छ ।

नेपाल आयल निगमले तोकेको मूल्यमा पेट्रोलियम पदार्थ नबेच्ने पम्पको लाइसेन्स तत्काल खारेज गर्ने भएको छ । पेट्रोलियम व्यवसायीले मनलाग्दी रुपमा पेट्रोलियम पदार्थ बेच्दै आएको थाहा पाएपछि निगमले पम्पको लाइसेन्स खारेज गर्ने भएको हो ।

‘निगमले डिपोबाट १५ किलोमिटर वरिपरीका पम्पले तोकिएको मूल्यमा बेच्नुपर्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘तर, आजसम्म कुनै पनि पम्पले तोकिएको मूल्यमा पेट्रोलियम पदार्थ बेचेका छैनन् ।’

निगमले विराटनगर, थानकोट, चारआली, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीका डिपोबाट १५ किलोमिटर वरिपरीका पम्पले पेट्रोल एक सय ८ रुपैयाँ ५० पैसा प्रतिलिटर तथा डिजेल र मट्टीतेल ९० रुपैयाँ ५० पैसामा बेच्नुपर्छ । तोकिएको मूल्यमा बिक्री नगरे पम्पको लाइसेन्स खारेज गर्ने निगमले जनाएको छ ।

त्यसैगरी, पोखरा तथा दाङमा रहेको डिपोबाट १५ किलोमिटर वरिपरीका पेट्रोलपम्प सञ्चालकहरुले एक सय ९ रुपैयाँ ५० पैसामा पेट्रोल तथा ९१ रुपैयाँ ५० पैसामा डिजेल तथा मट्टीतेल बेच्नुपर्छ । थानकोट, सुर्खेत र दिपायलका डिपोबाट १५ किलोमिटर वरिपरीका पम्पले एक सय १० रुपैयाँमा पेट्रोल बिक्री गर्नुपर्छ । त्यसैगरी, ९२ रुपैयाँमा मट्टीतेल तथा डिजेल विक्री गर्नुपर्छ ।

निगमका अनुसार देशभरका पम्पले काठमाडौंको मूल्यलाई आधार मानेर पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेका थिए । उपभोक्तालाई व्यवसायीले लामोसमयसम्म उपभोक्तालाई ठगी गरिरहेको थाहा पाएपछि निगम कडा रुपमा प्रस्तुत भएको छ । काठमाडौं बाहेकका डिपोले जति मूल्य निर्धारण गरे पनि काठमाडौंकै मूल्यमा बिक्री गर्ने गरेका छन् । विगत १० वर्षदेखि पम्पले अर्बौै रुपैयाँ ठगी गरेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता गोईतले १५ किलोमिटरभन्दा टाढाको दुरीमा खोलिएका पम्पले त्यहाँसम्मको ढुवानी भाडा जोडेर तेल बेच्न निर्देशन दिएका छन् । ‘जति किलोमिटर टाढा छ, ढुवानी जोडेर मूल्य तोक्न निर्देशन दिएका छौं,’ उनले भने, ‘यदि निगमले अनुगमन गर्दा मनलाग्दी मूल्य तोकेको पाइए, तत्काल खारेज गर्छौं ।’

निगमले १५ किलोमिटर वरिपरी ढुवानी गर्दा प्रतिकिलोमिटर २ सय ८४ रुपैयाँ ३१ पैसा ढुवानी भाडा तोकेको छ ।