वित्तीय संस्थाबाट बाहिरियो ४१ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा

चालू आर्थिक वर्षको ९ महिनामा वित्तीय संस्थाहरुबाट मात्रै करिब ४१ अर्ब ६ करोड रुपैयाँबराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

मुलुकमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरुबाट पछिल्लो समय विदेशी मुद्रा बाहिरिने क्रम तीव्र देखिएको छ । चालू आर्थिक वर्षको ९ महिनामा वित्तीय संस्थाहरुबाट मात्रै करिब ४१ अर्ब ६ करोड रुपैयाँबराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार गत असारमा बैङ्क तथा वित्तीय संस्था (राष्ट्र बैङ्कबाहेक)मा १ खर्ब ५२ अर्ब १७ करोड रुपैयाँबराबरको विदेशी मुद्रा रहेकोमा चैतमा आईपुग्दा २७ प्रतिशतले घटेर १ खर्ब ११ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । ९ महिनामा कुल विदेशी मुद्रा सञ्चितिमा १५ अर्ब रुपैयाँ कमी देखिँदा बैङ्क तथा वित्तीय संस्थामा ठूलो मात्राको विदेशी मुद्रा बाहिरिएको हो । खासगरी एनसेल र अन्य विदेशी कम्पनीको लाभांशवापतको रकम बाहिरिँदाको असर बैङ्क तथा वित्तीय संस्थाको विदेशी मुद्रा सञ्चितिमा परेको हो ।

पछिल्लो समय विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा वृद्धि देखिए पनि कुल विदेशी मुद्रा सञ्चितिमा भने खासै सहयोग गरेको छैन । २०७४ असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँबराबरको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा चैतसम्म आउँदा १.४ प्रतिशतले ह्रास भई १० खर्ब ६४ अर्ब ३७ करोडमा सीमित भएको छ । तर, यही अवधिमा रेमिट्यान्स वृद्धिदर भने ५.६ प्रतिशतले वृद्धि भई २०७४ चैतमा ५ खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । विगतका केही महिनामा रेमिट्यान्स वृद्धि दर न्यून र नकारात्मक रहेपनि पछिल्लो समयमा सामान्य सुधार देखिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या क्रमशः घट्दै गएपनि रेमिट्यान्समा न्यून वृद्धि कायमै छ । अघिल्लो वर्ष ३.२ प्रतिशतले वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या घटेकोमा चालू वर्षको ९ महिनामा ६.८ प्रतिशतले कमी आएको छ ।

प्रतिवेदनअनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चितिमा भने केही वृद्धि देखिएको छ । २०७४ असारमा ९ खर्ब २७ अर्ब २७ करोड विदेशी मुद्रा सञ्चिति रहेकोमा चैतमा आईपुग्दा ९ खर्ब ५३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैङ्कले कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको जनाएको छ ।

चालू वर्षको ९ महिनामा प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब २४ करोड भित्रिँदा पनि विदेशी मुद्राको मात्रा बढ्न सकेन । जबकि गत वर्ष ९ महिनामा यस्तो लगानी ८ अर्ब ३५ करोड मात्र भित्रिएको थियो । विदेशी मुद्रामा कमी आएसँगै मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर (शोधनान्तर)को ऋणात्मक स्थिति कायमै छ । यस अवधिमा शोधानान्तर घाटा २४ अर्ब ७३ करोड रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो शोधानान्तर घाटा ५० अर्ब २ करोड रुपैयाँले बचतमा थियो ।