अमूल नेपाल नल्याउन अर्थमन्त्री खतिवडादेखि कृषिमन्त्री खनालसम्म ‘पोजेटिभ’

भारतीय दूध नेपालमा ल्याएर मार्केटिङ गर्ने प्रमुख योजनासहित आउन लागेको अमूल डेरीलाई नल्याउन अर्थमन्त्री डाक्टर युवराज खतिवडादेखि कृषिमन्त्री चक्रपाणी खनालसम्म सकरात्मक देखिएका छन् ।

अमूल नेपाल आउँदा राज्यले पशुपालन क्षेत्रमा लगानी गरेको एक खर्ब रुपैयाँ जोखिममा पर्ने भएपछि अर्थमन्त्री र कृषिमन्त्री नल्याउने पक्षमा उभिएका हुन् । अमूलले नेपालको दूध गुणस्तरहीन देखाउँदै आएको र सोही बहाना देखाएर भारतबाट दूध ल्याएर नेपालमा बजारीकरण गर्ने योजना बनाएपछि सरकारी पक्ष अमूलको विपक्षमा देखिएको हो ।

भारतमा पर्याप्त मात्रामा दूध उत्पादन भएको र नेपालको तुलनामा भारतमा प्रतिलिटर ७ रुपैयाँसम्म सस्तोमा दूध पाइरहेको छ । सोही दूधलाई नेपाल ल्याएर दुग्धजन्य पदार्थ बनाएर बेच्ने अमूलको योजनालाई सरकारी पक्षले रोक्ने देखिएको छ ।

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री खनालले नेपाली कृषक र राज्यको खर्बौ रुपैयाँ लगानी जोखिममा पर्ने भएपछि नेपालमा अमूलको आवश्यकता नरहेको बताए । ‘अमूलले नेपाली कृषक तथा स्वदेशी दूधको प्रयोग गरेर दुग्धजन्य पदार्थ उत्पादन गर्दैन भन्ने सुन्नमा आएको छ’ उनले भने, ‘हामीले यहाँको कृषकको भलो तथा कच्चा पदार्थको रुपमा स्वदेशी दूध प्रयोग नगर्ने उद्योगलाई प्रोत्साहित गर्दैनौ ।’ अमूलले पटक–पटक नेपाली दूध गुणस्तरहीन भएको औल्याउँदै आएकोे छ । त्यही बहानामा भारतबाट दूध ल्याउन खोजेको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

एकातिर राज्यले कृषि क्षेत्रलाई एकदमै प्रथामिकता दिँदै लगिरहेको बेला भारतीय दूध ल्याएर नेपालमा बजारीकरण गर्नेलाई प्रोत्साहित नगर्ने मन्त्री खनालको भनाइ छ । अर्थमन्त्री खतिवडाले सार्वजनिक रुपमै कृषि क्षेत्रलाई प्रमुख प्रथामिकतामा राखेर नयाँ बजेट ल्याउने बताउँदै आइरहेका छन् । डेरी उद्योगीसँगको भेटमा पनि खतिवडाले भारतीय दूध नेपाल ल्याउने योजना रहेको अमूललाई नेपालमा आवश्यकता नरहेको बताइसकेका छन् ।

‘डेरी क्षेत्रमा प्रत्येक्ष बैदेशिक लगानी आवश्यकता छ,’ व्यवसायीको भेटमा अर्थमन्त्री खतिवडाले भने, ‘तर, भारतीय दूधको मार्केट नेपाल बनाउनलाई कसैले वैदेशिक लगानी ल्याउन खोज्छ भने, त्यो स्वीकार्य छैन् ।’ तर, स्वदेशी किसान तथा दूधलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्छ भने त्यसलाई वेलकम गर्न सकिने बताए ।

एकातिर नेपालमा ‘मिल्क होलिडे’को सम्भावना देखिदै गइरहेको बेला अमूलले भारतबाट दूध ल्याउने गरी उद्योग लगाउने हो भने कृषि क्षेत्रबाट ठूलो जनसङ्ख्या विदेश पलायन हुने सम्भावान हुने उद्योगीहरुको भनाइ छ ।