तामाकोशी सञ्चालनमा आए वार्षिक १८ अर्ब जोगिने—ऊर्जामन्त्री पुन

अहिले वार्षिक १८ अर्ब रुपैयाँको विद्युत् भारतबाट आयात गरिँदैछ । माथिल्लो तामाकोशी निर्माण भई सञ्चालनमा आएपछि सो रकमबराबरको भारतीय बिजुली प्रतिस्थापन गर्न सकिने उनले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वार्षिक १८ अर्ब रुपैयाँ जोगिने बताएका छन् ।

अहिले वार्षिक १८ अर्ब रुपैयाँको विद्युत् भारतबाट आयात गरिँदैछ । माथिल्लो तामाकोशी निर्माण भई सञ्चालनमा आएपछि सो रकमबराबरको भारतीय बिजुली प्रतिस्थापन गर्न सकिने उनले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको अन्तरक्रिया तथा औद्यागिक क्षेत्रको लोडसेडिङ् अन्त्य भएको अवसरमा गरिएको अभिनन्दन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले ऊर्जाको माध्यमबाट औद्योगिकीकरण गरी आर्थिक समृद्धि र कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न सिँचाइ आयोजनालाई मुख्य प्राथमिकता राखेकाले आर्थिक समृद्धिमा ऊर्जा र सिँचाइले ड्राइभिङ इन्जिनको रुप लिने दाबी गरे । सरकारले लिएको ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन ठोस तथ्य र निश्चित सर्तका आधारमा गरिएकाले त्यसका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ३ वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर गराउन सकिने र त्यसका लागि निजी क्षेत्रको सहकार्य र समन्वय हुनुपर्ने पर्ने बताए ।

कार्यक्रममा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले भारतबाट आयात हुने विद्युत् प्रतिस्थापन गरी मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउन मन्त्रालयले नीति तथा कार्ययोजना बनाएको बताए ।

औद्योगिक क्षेत्रको लोडसेडिङ् अन्त्य भएकाले उद्योगी, व्यवसायी तथा निजीक्षेत्रका लागि खुसीको कुरा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले बताइन् ।

लोडसेडिङ् अन्त्य गरेको भन्दै मन्त्री पुनलाई अभिनन्दन समेत गरिएको थियो ।