ढिलाेगरी मन्त्रीहरूकाे सम्पत्ति सावर्जनिकः कुकुरदेखि पार्टीकाे गाडीसम्म

सम्पत्ति सार्वजनिक भएसँगै विभिन्न मन्त्रीहरुलाई विगतको गतिविधिका आधारमा सामाजिक सञ्जालमा तीव्र आलोचना समेत सुरु भएको छ ।

सरकार बनेको एक सय दिन पुग्नै लाग्दा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति सार्वजनिक भएसँगै विभिन्न मन्त्रीहरुलाई विगतको गतिविधिका आधारमा सामाजिक सञ्जालमा तीव्र आलोचना समेत सुरु भएको छ । अधिकांश मन्त्रीहरुले सम्पत्ति सबै श्रीमतीको नाममा देखाएका छन् भने धेरै सम्पत्तिको स्रोत पैतृक बताएका छन् । ओली सरकारका मन्त्रीहरुको सम्पत्ति विवरणः

प्रधानमन्त्रीको सबै सम्पत्ति श्रीमतीको नाममा

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ । विवरणअनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ ओटा घर, झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा श्रीमती शाक्यको नाममा छ । त्यसैगरी शाक्यको नाममा माछापुच्छ«े बैङ्कमा ४ लाख रुपैयाँ, प्रभु बैङ्कमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको बचतपत्र छ । शाक्यको नाममा रहेको धेरैजसो सम्पत्ति स्वआर्जन भएको उल्लेख छ । शाक्य नेपाल राष्ट्र बैङ्ककी पूर्व कर्मचारी हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैङ्कमा ४२ लाख रुपैयाँ छ । यसको स्रोत भने तलब भत्ता भनेका छन् । त्यसैगरी ओलीसँग १७ तोला गरगहना छ । प्रधानमन्त्री ओलीसँग गाडी भने छैन ।

सबैभन्दा धनी मन्त्री महासेठ

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ सबैभन्दा धनी मन्त्रीका रुपमा देखिएका छन् । विवरणअनुसार धनुषाको क्षिरेश्वरमा ८ बिगाहा, सिन्धुलीको कमलामाईमा ५ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना, धनुषाधाममा एक बिगाहा र जनकपुर उपमहानगरपालिकामा १० कठ्ठा जग्गा उनको नाममा छ । महासेठसँग ५२ तोला सुन छ । जसमध्ये २७ तोला पैतृक तथा २५ तोला दाइजोबापत आएको हो । महासेठ र उनकी श्रीमती जुली महतोका नाममा विभिन्न ८ ओटा बैङ्कमा खाता भएपनि त्यसमा रकम भन्ने उल्लेख गरिएको छैन । गुडविल फाइनान्समा ७० हजार, एनभीपीएल नामक कम्पनीमा ३७ करोड, कर्पोरेट डेभलपमेन्ट बैङ्कमा २ करोड ५० लाख, लक्ष्मी बैङ्कमा १ लाख ५० हजार, महिला अधिकार तथा विकास केन्द्रमा ५० लाख रुपैयाँ लगानी छ । विभिन्न ठाउँमा सगोलमा रहेको करिब डेढ सय बिगाहा जग्गाको विवरण पनि उनले सम्पत्तिमा उल्लेख गरेका छन् । नबिल बैङ्कबाट ३ करोड रुपैयाँ ऋण लिएको उनले केही रकम तिर्न बाँकी रहेको जनाएका छन् । त्यस्तै तत्कालीन एस डेभलपमेन्ट बैङ्कलगायतबाट २१ करोड रुपैयाँ कर्जा लिएको विवरणमा उल्लेख छ ।

जग्गा खरिदमा केन्द्रित अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाको काठमाडौं ४ मा ५ आनामा बनेको घर छ । त्यसैगरी श्रीमती कमला खतिवडाको नाममा काठमाडौं ४ मा १४ आना जग्गा र त्यसमा बनेको घर छ । त्यस्तै, भक्तपुर चाँगुनारायणमा १२ आना जग्गा छ । श्रीमती कमलाको नाममा झापा गौराहदहमा ४ बिघा ८ कठ्ठा जग्गा छ । त्यसैगरी श्रीमती कमलाको नाममा दोलखाको जिरीमा ४ लाखको जग्गा किनिएको छ ।

अर्थमन्त्री खतिवडाको झापाको बुद्ध शान्तिमा १० कठ्ठा जग्गा छ । त्यस्तै श्रीमती कमलासँग संयुक्त नाममा काठमाडौं कागेश्वरीमा ४ रोपनी १ आना २ पैसा जग्गा छ । उनीसँग सुन १० तोला र १ किलो चाँदीका गहना छन् । ९० लाख रुपैयाँ हाराहारी नगद बैङ्कमा छ भने दुई सहकारीको सेयर किनेका छन् । सहकारीमा ५ लाख ५ हजार रुपैयाँको सेयर छ । उनले २४ लाख रुपैयाँ विभिन्न व्यक्तिलाई ऋणसमेत दिएका छन् । त्यसैगरी २ ओटा मोबाइल, एउटा गाडी र टेलिभिजनसमेत सम्पत्ति विवरणमा खुलाएका छन् । नेपाल राष्ट्र बैङ्कमा ३० वर्ष काम गरेका उनले संयुक्त राष्ट्र सङ्घमा पनि केही समय काम गरेका थिए । उनले अधिकांश सम्पत्ति यी दुई ठाउँमा काम गर्दा जोडेको उल्लेख गरेका छन् । खतिवडा राष्ट्र बैङ्ककै गभर्नर र दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा एक पटक सदस्यसमेत बनेका थिए । खतिवडासँग ६२ हजार ७ सय ३ अमेरिकी डलर मौज्दात छ ।

बिना मगरको सम्पत्तिः श्रीमानको नामको स्कुटर र २ कठ्ठा जग्गा

खानेपानीमन्त्री बिना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर छ । मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा १ कठ्ठा जग्गा रहेको उल्लेख गरेकी छन् । प्रकाशको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीताको नाममा रहेको जग्गा पैत्रिक सम्पत्ति उल्लेख गरिएको छ ।

त्यसैगरी मगरसँग पैतृक सम्पत्तिका रुपमा ५ तोला सुन र १६ तोला चाँदी छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन । एभरेष्ट बैङ्कमा खाता रहे पनि त्यहाँ नगद छैन ।

लालबाबु पण्डितको सम्पत्तिः विराटनगरमा ५ कोठे घर

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । त्यसैगरी ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा र सर्लाहीको बसबरियामा ४ विगाहा पैतृक सम्पत्ति छ । त्यस्तै उनीसँग १० तोला सुन र १५ तोला चाँदी पनि छ । पण्डितको नाममा एभरेष्ट बैङ्कमा २५ लाख र बिमलाको नाममा कृषि विकास बैङ्कमा ३० लाख रुपैयाँ बचत छ भने सवारी साधनका नाममा एक थान पुरानो साइकल छ ।

गृहमन्त्री थापाको सम्पत्तिः छिमेकीको उपहार २ ओटा कुकुर

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सम्पत्तिमा २ ओटा कुकुर रहेको बताएका छन् । सार्वजनिक सम्पत्तिअनुसार भाले र पोथी ती कुकुर पनि छिमेकीबाट गिफ्ट पाएका हुन् ।

विवरणअनुसार थापासँग ६ तोला सुन छ । जुन श्रीमतीलाई भाइले विदेशबाट उपहार स्वरुप दिएको हो । त्यसैगरी उनीहरुसँग बैङ्कमा ५० हजार रुपैयाँ नगद छ भने आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन छैन । आफ्नै घरजग्गामा भएको रेस्टुरेन्टबाट आएको ३ लाख रुपैयाँ नगद पनि उनीसँग छ । गृहमन्त्री थापाकी पत्नी नैनकला थापाको नाममा भने चितवनमा १ कठ्ठा ३ धुर जग्गा छ । त्यस्तै चितवनको भोजाडमा श्रीमती थापाको पेवाको रुपमा ३ कित्ता गरेर ४ सय ७४ वर्गमिटर जग्गा छ । त्यसैगरी गृहमन्त्री थापाकी पत्नीको नाममा अपर तामाकोसी हाइड्रोपावरको १ सय ४६ कित्ता सेयर छ ।

ऊर्जामन्त्री वर्षमान पुनको पुख्र्यौली सम्पत्ति

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले आमा तीर्थमाली पुन मगर र बाबु इर्खाराम पुनको नाममा दाङ र रोल्पामा करिब २० लाख ३० हजार बराबरको पुख्र्यौली जमिन रहेको जनाएका छन् । त्यसैगरी पुनसँग सुन १५ तोला र डेढ किलो चाँदी छ । पुनसँग एभरेष्ट बैङ्कमा ३ लाख ५० हजार रुपैयाँ छ । ऊर्जामन्त्री पुनले सेयर र ऋणपत्र केही पनि आफ्नो नाममा नभएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ऋणमा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नाममा १४ लाख ८५ हजार रुपैयाँ ऋण छ । काठमाडौंको घरमा तला थप्ने प्रयोजनका लागि ज्ञवालीले विनोद श्रेष्ठ, श्रीकृष्ण गौतम, रामेश्वर अर्याल, रामेश्वर थापा, भीम घिमिरेसहित ९ जनासँग ऋण लिएका छन् । ज्ञवालीकी श्रीमती सरस्वती ज्ञवाली अर्यालको नाममा ४ आना २ पैसा ३ दाममा बनेको २ तले पक्की घर छ । बुटवलको जग्गा बिक्री गरी सो घर बनाएको विवरणमा उल्लेख छ । ज्ञवालीसँग २ तोला सुन पनि छ ।

पर्यटनमन्त्री अधिकारीको पैतृक सम्पत्तिमै दाबी

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग पोखराको लेखनाथमा १ सय रोपनी जग्गा छ । त्यसैगरी काठमाडौंको बुढानिलकण्ठमा ५ आना र पोखराको लेखनाथमा साढे ४ आना जग्गा छ । उनीसँग पैतृक सम्पत्तिको रुपमा ६० तोला सुन र ३० किलो चाँदी पनि छ । त्यसैगरी गण्डकी विकास बैङ्कमा १५ लाख र एभरेष्ट बैङ्कमा साढे ९ लाख रुपैयाँ मौज्दात छ । पानीखोला हाइड्रोपावरमा ३० लाख रुपैयाँ बराबरको सेयर छ । अधिकारीसँग २० लाख पर्ने कार, १ लाख १५ हजार पर्ने मोबाइल र ८० हजार पर्ने ल्यापटप पनि छ ।

कानुनमन्त्री तामाङको श्रीमतीकै नाममा अधिक सम्पत्ति

कानुनमन्त्री शेरबहादुर तामाङकी श्रीमती उषाकला राईसँग काठमाडौंको गोकर्णेश्वरमा साढे ३ आना जग्गामा बनेको साढे २ तले घर छ । तामाङको नाममा सिन्धुपाल्चोकमा १७ रोपनीभन्दा बढी जग्गा र काठमाडौंमा ६ आना जग्गा छ भने उनकी श्रीमती राईको खोटाङमा १ सय ५ रोपनी जग्गा छ । त्यस्तै उषाकलाको नाममा मोरङको दुलारी र सुन्दर हरैंचामा साढे २ बिगाहाभन्दा बढी जग्गा छ । तामाङसँग एभरेष्ट बैङ्कमा १ लाख २८ हजार रुपैयाँ नगद छ भने विभिन्न कम्पनीमा १५ लाख रुपैयाँ बराबरको सेयर छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट ७० लाख रुपैयाँ ऋण लिएका छन् । त्यसैगरी श्रीमती राईको नाममा कार र तामाङको नाममा मोटरसाइकल छ ।

शक्ति बस्नेतको घर छोरीको नाममा, गाडी पार्टीको नाममा

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जाजरकोटको भेरी नगरपालिकामा छोरी संगम बस्नेतको नामा ४ रोपनी ३ पैसा जग्गा र त्यसमा बनेको घर, लालीगुराँस सहकारीमा १० हजार र हाम्रो नयाँ कृषि सहकारीमा ३० लाखको सेयर, एभरेस्ट बैङ्कमा २० लाख नगद तथा सुन ५ तोला र चाँदी १० किलो रहेको छ । यी सबै सम्पत्ति पारिश्रमिक र पैतृक रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी नेकपा माओवादीको नाममा रहेको बा ९ च ७४३१ नम्बरको स्कोरपियो गाडी रहेको उनले सम्पत्ति विवरण भरेका छन् ।

आपूर्तिमन्त्री मात्रिका यादवको सम्पत्ती श्रीमतीका नाममा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति श्रीमती प्रमिलादेवी यादवको नाममा देखाएका छन् । ललितपुरको चापागाउँमा १ करोड ५ लाख मूल्य बराबरको ३ रोपनी ४ आना १ पैसा जमिन छ । त्यसैगरी सिरहाको रामनगरमा साढे २ धुरमा बनेको घर छ । त्यस्तै धनुषाको सवेलामा पनि घर छ ।

यादवले २ करोड ५१ लाख बराबरको सम्पत्ति श्रीमतीको र भाइको नाममा राखेका छन् । श्रीमतीको नाममा सिरहामा २० लाख र २५ लाख गरी ४५ लाखको करिब १३ धुर जमिन छ । धनुषामा १ लाख ६५ हजार, १ लाख २० हजार र ४८ लाख मूल्य बराबरको सम्पत्ति श्रीमतीको नाममा छ । डेढ तोलाको सिक्री ४ ओटासहित अन्य गहना गरी १६ तोला सुन छ । यी गहना विवाह, मुख देखाइमा श्रीमतीको माइती र आफन्तबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।

त्यसैगरी यादवको नाममा नेपाल एसबीआई बैङ्कमा ६९ हजार ६ सय ९१, नेपाल इन्भेष्टमेन्ट बैङ्कमा २ लाख ७४ हजार ६ सय ९० र श्रीमती प्रमिलाको नाममा इन्भेष्टमेन्ट बैङ्कमा १ लाख ९८ हजार ४ सय ९० रुपैयाँ मौज्दात छ । त्यस्तै श्रीमती प्रमिलाको नाममा बा १४ प ७३० नम्बरको गाडी छ ।

श्रममन्त्री गोकर्ण विष्टको ७३ लाख ऋण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विभिन्न बैङ्कबाट ७३ लाख ऋण लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका ४ मा कच्ची घर र दुई कटेरा छन् भने ४० रोपनी जग्गा छ । विष्टकी श्रीमती प्रमिला श्रेष्ठका नाममा काठमाडौंको सामाखुसीमा ४० लाख बराबरको जग्गा छ । विष्ट र श्रीमतीसँग करिब ७ तोला सुन छ । श्रीमती समेतको नाममा विभिन्न बैङ्कमा ७ लाख २१ हजार ७ सय ४३ रुपैयाँ नगद छ । यो बाहेक विष्टसँग टिभी, मोबाइल सेट र दराज रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

रक्षामन्त्री पोखरेलको शिक्षादेखि पानीसम्म लगानी

रक्षामन्त्री ईश्वर पोखरेलकी श्रीमती मीरा पोखरेलको नाममा बरुण हाइड्रोमा १० हजार कित्ता, कृषि विकास बैङ्कमा १ सय कित्ता र मोडर्न मल्टिपल क्याम्पसमा ५ हजार कित्ता सेयर छ । मन्त्री पोखरेलको इन्भेष्टमेन्ट बैङ्कमा ७ लाख रुपैयाँ छ । जुन भ्रमण भत्ता, पुस्तक बिक्रीबाट प्राप्त भएको उल्लेख छ । त्यसैगरी करिब ९ तोला सुन र २५ तोला चाँदी पोखरेलसँग छ ।

पोखरेलको टोखामा २३ आना जग्गामा बनेको घर छ । पुरानो घर र जग्गा बिक्री गरी तथा ऋण लिएर त्यो घर बनाएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी झापाको चन्द्रगढीमा पोखरेलको नाममा १२ कठ्ठा, भक्तपुरको नगरकोटमा मीराको नाममा १ रोपनी ११ आना र धादिङको खानीखोलामा पनि मीराको नामा ४ रोपनी जग्गा छ ।

सम्पत्ति दान गर्ने शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिजामणि पोख्रेलले पनि आफ्नो सम्पत्ति श्रीमती चन्द्रकुमारी पोखरेलको नाममा देखाएका छन् । खोटाङको सावावेशी गाउँपालिकामा १२ रोपनी २ आना र १० रोपनी १४ आना २ पैसा १ दाम जग्गा पैत्रिक सम्पत्तिका रुपमा रहेको र अंशबन्डामार्फत आएको जग्गा स्मृति प्रतिस्ठानलाई दान दिएको सम्पत्ति विवरणमा उल्लेख छ । रुपाकोट सामुदायिक रेडियोमा ५ हजार रुपैयाँको सेयर छ भने पोखरेलकै नाममा एभरेस्ट बैङ्कमा ३ लाख ६७ हजार र नेपाल बङ्गलादेश बैङ्कमा १३ हजार ३ सय ९३ रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।

कृषिमन्त्री खनालको पनि जग्गामै ध्यान

कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालको कपिलवस्तु वाणगङ्गामा डेढ कठ्ठा, श्रीमती यमा बन्जाडे खनालका नाममा वाणगङ्गामै १५ कठ्ठा,, श्रीमती बन्जाडेको रुपन्देही तिलोत्तमामा १२ कठ्ठा जग्गा पैतृक सम्पत्तिका रुपमा रहेको छ । सुन ६ तोला बराबरको औंठी, बाला र चेन पनि उनको सम्पत्ति छ । त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैङ्क, बैङ्क अफ काठमाण्डू, सानिमा बैङ्क र प्राइम कमर्सियल बैङ्कको दोस्रो बजारबाट खरिद गरेको १० लाख ३७ हजार २ सय ७५ रुपैयाँको सेयर, मन्त्री खनालको नाममा हिमालयन बैङ्क र एभरेस्ट बैङ्कमा जग्गा बेचेर प्राप्त भएको ८ लाख १६ हजार नगद र श्रीमती खनालको नाममा नेपाल एसबीआई बैङ्क र एभरेस्ट बैङ्क गरी ६ लाख ८० हजार रुपैयाँ व्यवसायबाट प्राप्त रकम मौज्दातका रुपमा रहेको छ । त्यसैगरी श्रीमती खनालका नाममा एउटा स्कुटर पनि सम्पत्तिको रुपमा छ ।

महिलामन्त्री थापा सबैभन्दा गरिब

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको नाममा बेनी नगरपालिकाका ७ कठ्ठा १ धुर जग्गा आमाबाट प्राप्त भएको उल्लेख छ । आमाबाट प्राप्त सुन १ तोला र भूकम्पपीडित कोषको नाममा माछापुच्छ«े बैङ्कमा १ हजार, एभरेस्ट बैङ्कमा ४ हजार र कुमारी बैङ्कमा १० हजार रुपैयाँ नगद छ ।