हट्यो लोडसेडिङ, हटेन ‘लाइन ट्रिपिङ’

सिमेन्ट, रड, दूधलगायत उद्योग एकदमै संवेदनशील उद्योगमा पर्छन् । यी उद्योग सञ्चालन भइरहेको बेला झ्याप्प विद्युत् काटियो भने उद्योगीलाई ठूलो क्षति हुने व्यवसायीहरु बताउँछन् ।

सरकारले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ अन्त्य गरेर २४ घण्टा विद्युत् उपलब्ध गराए पनि छिनछिनमा हुने ‘लाइन ट्रिपिङ’बाट उद्योगी/व्यवसायी हैरान भएका छन् ।

सरकारले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्ने बचन सहित भइरहेको लोडसेडिङ समेत अन्त्य गरेपछि उद्योगीले जेनेरेटर समेत हटाइसकेका छन् । एकातिर भएको जेनेरेटर हटाए पनि छिनछिनमा हुने लाइन ट्रिपिङबाट उद्योगको सम्पूर्ण सिस्टम बन्द हुँदा उद्योगलाई झन मार परेको उद्योगीहरु बताउँछन् ।

‘यसरी छिनछिनमा लाइन जाने समस्या हुनुभन्दा ‘फिक्स टाइम’ राखेर लोडसेडिङ गर्दा उद्योगको सिस्टम बिग्रिँदैन’ लोमस ग्रुपका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले भने, ‘रेगुलर लाइन आउँछ भन्यो झ्याप्प झ्याप्प लाइन काटिँदा धेरै समस्या भयो ।’ अहिले खासगरी तराईका उद्योगमा अत्यन्तै धेरै लाइन ट्रिपिङ हुने गरेको छ ।

विशेषगरी तीन तरिकाबाट लाइन ट्रिपिङ हुने गरेको पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तराइको तापक्रम अत्यधिक हुनु, हावाहुरीबाट लाइनमा ‘डिस्टर्ब’ गर्नु, उद्योगको लोडका कारण पनि छिनछिनमा लाइन जाने गरेको हो । काठमाडौंका उद्योगको तुलनामा तराईमा सञ्चालित उद्योगमा लाइन ट्रिपिङको समस्या एकदमै धेरै भएको केएल दुगडका प्रवन्ध निर्देशक कुमुद दुगडले जानकारी दिए ।

‘अधिकांश उद्योग तरार्इ क्षेत्रमै भएको र सोही क्षेत्रका उद्योगमा लाइन ट्रिपिङ बढी भएको छ,’ दुगडले क्यापिटल नेपालसँग भने, ‘सरकारले उद्योग क्षेत्रमा लोडसेडिङ अन्त्य गरे पनि गुणस्तरीय विद्युत् उपलब्ध गराउन सकेको छैन ।’ कतिपय उद्योग एकदमै संवेदनशील हुन्छन् । त्यस्ता उद्योग सञ्चालन भइरहेका बेला झ्याप्प विद्युत् जाने वित्तिकै उद्योगलाई धेरै नोक्सान हुने श्रेष्ठ बताउँछन् ।

‘लामो समय खर्चिएर फलामलाई रड बनाउन गलाइएको हुन्छ, त्यहीँबीचमा झ्याप्प लाइन गयो भने त्यसले ठूलो असर पुग्छ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘त्यस्ता धेरे उद्योग छन्, लाइन जाने वित्तिकै उद्योगको धेरै सामान खेर जान्छ ।’
सिमेन्ट, रड, दूधलगायत उद्योग एकदमै संवेदनशील उद्योगमा पर्छन् । यी उद्योग सञ्चालन भइरहेको बेला झ्याप्प विद्युत् काटियो भने उद्योगीलाई ठूलो क्षति हुने व्यवसायीहरु बताउँछन् ।

उद्योगीका अनुसार आर्थिक वर्षको अन्त्य आउन लागेकाले उद्योगले उत्पादन बढाउने पनि गरेका छन् । उत्पादन बढाउँदा प्राधिकरणमा विद्युत्को भार धेरै हुने गर्छ । त्यसका कारण पनि छिन छिनमा बिजुली जाने गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले उद्योग क्षेत्रमा लोडसेडिङमुक्त गरे पनि गुणस्तरीय बिजुली उपलब्ध नगराउँदा ठूलो समस्या आएको बताए । ‘खासगरी पश्चिमी करिडोरमा यो समस्या एकमदै ठूलो छ,’ गोल्छाले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘बिजुलीको गुणस्तर नसुधार्ने हो भने, उद्योग क्षेत्रमा लोडसेडिङ अन्त्य हुनु र नहुनुको कुनै अर्थ छैन ।’

सरकारले उपलब्ध गरेको बिजुली गुणस्तरीय नभएकै कारण उद्योगीले धमाधम जेनेरेटर चलाउन थालेको गोल्छाले बताए । त्यसैगरी, भइरहेको क्षमताबाट थप क्षमता विद्युत माग्दा पनि सरकारले उपलब्ध गराउन नसकेको बताए । ‘एउटा उद्योगले दुई मेगावाट विद्युत्बाट सामग्री उत्पादन गर्दै आएको थियो । उसले उद्योगको क्षमता विस्तार गरेर बढी सामान उत्पादन गर्दा थप बिजुलीको आवश्यकता पर्छ । थप बिजुली सरकारले उपलब्ध गराउन सकेको छैन,’ उनले भने, ‘त्यसैले अहिले उद्योगी लोडसेडिङको भन्दा लाइन ट्रिपिङको समस्यामा बढी छन् ।’