डीपीआरको काम सकिएसँगै वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर रानाले जानकारी दिए । अहिले ५ सय ५० दशमलव ४ हेक्टरको क्षेत्र निर्धारण गर्दै वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको बताइएको छ ।
प्रदेश ५ को बहुप्रतीक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (र्इआर्इए)को काम सुरु भएको छ । यद्यपि डीपीआरको पूरै प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन ।
डीपीआरको काम सकिएसँगै वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर रानाले जानकारी दिए । अहिले ५ सय ५० दशमलव ४ हेक्टरको क्षेत्र निर्धारण गर्दै वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढेको बताइएको छ ।
मोतिपुरको औद्योगिक क्षेत्रको ५ सय ५० दशमलव ४९ हेक्टर क्षेत्रफलमा सुरु भएको वातावरणीय प्रभाव मूल्याङ्कनको काम बुटवल उपमहानगरपालिकाको वडा नं १७ र १८ को क्षेत्रमा पर्छ । यसअघिको सरकारले सातै अाेटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेअनुरुप यहाँ नयाँ औद्योगिक क्षेत्र बन्न लागेको हो । नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका बेलामा औद्योगिक क्षेत्रको डीपीआरका लागि बजेट विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको थियो ।
स्थानीयवासीको असन्तुष्टिसमेत आएपछि निर्माण कार्य केही सुस्ताएको थियो । मोतिपुर, तिलोत्तमा र शुद्धोधनको क्षेत्रमा ८१४ बिगाहको जमिनमा पहिलो चरणको नापजाँच भएको थियो । सो क्षेत्रभित्र परेका स्थानीयवासीको भोगचलनको जग्गा छुट्याएर औद्योगिक क्षेत्रको डीपीआर बनेको र त्यसमै वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको हो ।
बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका तथा शुद्धोधन र कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र अगुवालाई तोकेको समयसम्ममा लिखित सुझाव उपलब्ध गराउन आयोजनाले अपिलसमेत गरेको छ । विसं २०३२ मा निर्माण भएको बुटवल औद्योगिक क्षेत्रमा जग्गा नपुगेको र अरु नयाँ उद्योगलाई जग्गा अभाव भएको गुनासो आएपछि यहाँ नयाँ र आधुनिकस्तरको औद्योगिक क्षेत्र निर्माणको पहल भएको हो । मोतिपुरको प्रस्तावित औद्योगिक क्षेत्रमा कम्तीमा ५ सय उद्योग स्थापना गर्न सक्ने लक्ष्य छ ।
यसका लागि यहाँका निजी क्षेत्रहरु उद्योग वाणिज्य सङ्घ, रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ, उद्योग व्यापार सङ्गठनले समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (र्इआर्इए) तयार पार्न अहिले कानुनी प्रावधानका चरण अगाडि बढेका छन् । यो कम्पनीले गत वैशाख १४ गते नै वातावरणीय प्रभाव मूल्याङ्कनका लागि क्षेत्र निर्धारण गर्नेबारे सार्वजनिक सूचना जारी गरेको थियो । अहिले फेरि एक साताको समय दिएर परामर्शदाता कम्पनीले सुझाव उपलब्ध गराउन अपिल गरेको छ ।
परामर्शदाता कम्पनी ‘नेस’की वातावरण विज्ञ रमिता श्रेष्ठसहितको टोलीले प्रस्तावित क्षेत्रको हालै अवलोकन गरेर स्थानीयवासीको राय सुझाव लिएको छ । मोतिपुर औद्योगिक क्षेत्रको प्रस्तावित स्थानको बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि तथा अगुवालाई भेटेर लिखित सुझावसमेत मागिएको छ । यसका लागि एक साताको समयावधि छुट्याइएको बताउँदै विज्ञ श्रेष्ठले त्यतिञ्जेल स्थानीय अगुवा र जनप्रतिनिधिसमक्ष भेटघाट जारी राखिने जानकारी दिइन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मौतिपुर औद्योगिक क्षेत्र आयोजनाले मोतिपुर र बुटवलको मात्रै नभएर प्रदेशकै मुहार फेर्न सक्नुपर्नेमा जोड दिए । वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त्यहाँको जैविक, भौतिक र सामाजिक पक्षलाई आधार मानेर मूल्याङ्कन गर्ने बताइएको छ । वातावरण विज्ञ श्रेष्ठले स्थानीय क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक प्रणाली र तिनका अवयव तथा तिनमा पर्न सक्ने प्रभावबारे अध्ययन सुरु गरिएको बताइन् । नेपाल इन्भाइरलमेन्ट एन्ड साइन्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाइमा बीडीए नेपाल र एडीएमसीजेभी जितजङ्गमार्ग र थापाथली काठमाडौँले संयुक्त रुपमा वातावरणीय प्रभाव मूल्याङ्कनका काम सुरु गरेका हुन् । रासस