गरिबी निवारण कोषबाट २८ करोड रकम परिचालन

अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आवको २०७४/०७५ आर्थिक सर्वेक्षणमा कोषबाट लक्षित समुदायका आयमूलक, सामुदायिक पूर्वाधार विकास, नवीनतम र भूकम्पसम्बन्धी कार्यक्रम गरी कुल पाँच हजार चार सय एक परियोजना कार्यन्वयन गर्न सामुदायिक संस्थामार्फत २८ करोड पाँच लाख रुपैयाँ परिचालन भएको उल्लेख छ ।

चालू आर्थिक वर्षको प्रथम आठ महिनामा गरिबी निवारणको कोषबाट २८ करोड पाँच लाख रुपैयाँ परिचालन भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आवको २०७४/०७५ आर्थिक सर्वेक्षणमा कोषबाट लक्षित समुदायका आयमूलक, सामुदायिक पूर्वाधार विकास, नवीनतम र भूकम्पसम्बन्धी कार्यक्रम गरी कुल पाँच हजार चार सय एक परियोजना कार्यन्वयन गर्न सामुदायिक संस्थामार्फत २८ करोड पाँच लाख रुपैयाँ परिचालन भएको उल्लेख छ ।

गत आवमा १० हजार ९ सय परियोजना कार्यन्वयन गर्न सरकारले एक अर्ब ८४ करोड ६१ लाख रुपैयाँ रकम परिचालन गरेको तथ्याङकले देखाएको छ । गत आवको तुलनामा चालू आवमा ६ हजार परियोजना घटेको बताइएको छ ।

त्यस्तै गरिबी निवारण कोषबाट सञ्चालित कार्यक्रमबाट हालसम्म ६० जिल्लाका ९ लाख ८४ हजार ४ सय २१ घरधुरी लाभान्वित भएको बताइएको छ । कोषबाट गठित सामुदायिक संस्थामा ७५ प्रतिशत महिला सदस्य रहेको तथ्याङ्कले देखाएको छ । कुल ३ सय ५० गरिब समुदायमा हस्तकला प्रवर्द्धनमा सहयोग पुगेको छ । त्यसैगरी ३१ ओटा पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन भएका छन् भने ६८ ओटा सहकारी क्षमता विकास भएका छन् ।

सर्वेक्षणअनुसार गरिब तथा बेरोेजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रममार्फत प्रतिव्यक्ति अधिकतम दुई लाखसम्म विना धितो ऋण उपल्ब्ध गराउने व्यवस्था रहेको छ । १८ देखि ५० वर्ष उमेर समूहका बेरोजगार युवाहरु उक्त कार्यक्रमका लक्षित वर्ग रहेका छन् । चालू आवको प्रथम आठ महिनासम्म उक्त कार्यक्रममार्फत पाँच अर्ब ८० करोड ६५ लाख लगानी भएकोमा अहिलेसम्म तीन अर्ब २ करोड रुपैयाँ असुली भएको छ । आठ महिना युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमबाट कुल ४४ हजार आठ सय दस जना रोजगार बनेका तथ्याङ्कले देखाएको छ ।

स्वरोजगार कार्यक्रमबाट चालू आवको आठ महिनासम्म १२ हजार ६ सय २२ जनालाई अभिमुखीकरण तालिम र ६ सय ५८ जनालाई सीपमूलक तालिम प्रदान गरिएको बताइएको छ । त्यस्तै एक हजार सात सय ३२ जनालाई अनुशिक्षण, एक सय नौ जनालाई स्वयमसेवक क्षमता अभिवृद्धि र एक सय ६५ जनालाई कर्मचारी सेवाकालीन तालिम गरी कुल १५ हजार दुई सय ८६ जनालाई तालिम प्रदान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।