उद्योगहरूको उपयोग क्षमतामा सुधार

मुलुकमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरु पस्मिना उद्योग रहेको छ । पस्मिनाले आफ्नो क्षमताको ९८.५ प्रतिशत क्षमता प्रयोग गरेको छ । पस्मिनातर्फ करिबकरिब आफ्नो उद्योगको क्षमता सबै उपयोग भएको देखिन्छ ।

नेपालमा सञ्चालित उद्योग तथा कलकारखानको उपयोग क्षमतमामा सामान्य सुधार देखिएको छ । आर्थिक वर्ष २०७३/७४ मा सभग्र क्षमता उपयोग ५७.३ प्रतिशत मात्रै छ । ऊर्जा आपूर्ति तथा व्यावसायिक वातावरणमा सुधार र पुनर्निर्माणको कामले गति लिँदा निर्माणजन्य सामग्रीको माग बढेकाले उद्योगहरुको क्षमता उपयोगमा वृद्धि भएको हो । तर, उद्योगहरुको क्षमता उपयोग गर्ने अझै धेरै ठाउँ छ । अघिल्लो वर्ष उद्योगहरुको क्षमता उपयोग ४८.२ प्रतिशत मात्रै थियो । २०७२ वैशाखमा गएको विनासकारी भूकम्प तथा आर्थिक वर्ष २०७२/७३ को भारतीय सीमा नाकामा अवरोधका कारण आपूर्तिमा समस्या आउँदा नेपाली उद्योगहरुको क्षमता ह्रास हुँदै गएको थियो ।

नेपाली उद्योगहरुमा परेको नेपाल राष्ट्र बैङ्कले ५७ जिल्लालाई समेटेर गरेको स्थलगत अध्ययनमा वनस्पती घिउ तथा तेल समूह, पेय पदार्थ, लत्ता कपडा, कागज, अन्न तथा पशुदाना, रासायनिक पदार्थ, प्लास्टिकजन्य उत्पादन, गैरधातु खनिजजन्य उत्पादन तथा फ्रेबिकेटेट धातुका सामानहरुको उत्पादनमा वृद्धि भएको देखाएको छ । तर, दुग्धपदार्थ, अन्य खाद्य पदार्थ, तयारी कपडा, काठको उत्पादन, बिजुलीको तार र जुत्ताको उत्पादनमा भने ह्रास आएको छ ।

मुलुकमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरु पस्मिना उद्योग रहेको छ । पस्मिनाले आफ्नो क्षमताको ९८.५ प्रतिशत क्षमता प्रयोग गरेको छ । पस्मिनातर्फ करिबकरिब आफ्नो उद्योगको क्षमता सबै उपयोग भएको देखिन्छ । त्यसपछि बढी क्षमता उपयोग भएकोमा बियर उद्योग ८२.१ प्रतिशत), चाउचाउ उद्योग ७९.१ प्रतिशत र प्रशोधित चिया उत्पादन गर्ने उद्योग ७८.६ प्रतिशत छ । यी सबै उद्योगहरुको क्षमता उपयोग अघिल्लो वर्षभन्दा बढी भएको छ ।

गत वर्षमा नेपालका चामल उद्योगले खासै चासो नदिएको भेटिन्छ । सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगमा परेको चामल उद्योगले आफ्नो क्षमता २८.८ प्रतिशत मात्रै क्षमता प्रयोग गरेको छ । यसको अर्थ चामल उद्योगमा प्रसस्तै क्षमता प्रयोग गर्न बाँकी छ भन्ने देखाउँछ । चामलजस्तै कम क्षमता प्रयोग गर्ने समूहमा रहेको चिनी उद्योग ३१.२ प्रतिशत र इँटा उत्पादन गर्ने उद्योग ३५.७ प्रतिशत मात्रै क्षमता प्रयोग गरेका छन् ।

राष्ट्र बैङ्कले ऊर्जा आपूर्तिमा सुधार, कच्चापदार्थको सहज उपलव्धता, पुनर्निर्माण कार्यले लिएको गतिका कारण चालू वर्ष उद्योगहरुको क्षमता उपयोगमा थप विस्तार हुने उल्लेख गरेको छ । अध्ययनमा प्रादेशिक तथा केन्द्रीय स्तरको चुनावमा सरकारी खर्चमा हुने वृद्धिबाट चाउचाउ, चकलेट, बियर र हल्का पेय पदार्थजस्ता वस्तुहरुको माग बढ्न गई तिनीहरुको उत्पादन बढ्ने दाबी गरिएको छ । त्यसैगरी चालू आर्थिक वर्षमा मौसमी अनुकूलताका कारण कृषि उत्पादनमा वृद्धि हुन गई चामल, पीठो, दाल र तेल जस्ता कृषिजन्य उत्पादनमा आधारित उद्योगहरुको उत्पादन समेत बढ्ने राष्ट्र बैङ्कले उल्लेख गरेको छ । तर, सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गरेको तथा चिनी उद्योगहरुले विगत वर्षहरुको उखुको मूल्य किसानलाई भुक्तानी नदिएकाले किसानको उखु खेतीमा आकर्षण घट्दा चिनी उत्पादन भने घट्ने सम्भावनालाई राष्ट्र बैङ्कले उजागर गरेको छ ।

नर्निर्माण प्राधिकरणबाट भूकम्पपीडितहरुलाई दोस्रो तथा तेस्रो किस्ताको रकम दिने काम तिव्र बनाएको, भत्किएका सरकारी संरचनाहरुको पुनर्निर्माणको गति बढेको, स्थानीय तहमा पूर्वाधार विकास गर्नुपर्ने कारण निर्माणजन्य सामाग्री इँटा, सिमेन्ट, फलामे छड तथा पत्तीलगायका उत्पादन बढ्न गई ती उद्योगहरुको उत्पादन क्षमता बढ्ने आकलन केन्द्रीय बैङ्कको छ ।

उद्योगहरुको उत्पादन क्षमता उपयोग
आर्थिक वर्ष            प्रतिशत
२०७३/७४               ५७.३
२०७२/७३               ४८.२
२०७१/७२               ५२.७
२०७०/७१               ५९.३