वन तथा वातावरणमा १६ अर्ब ५८ करोड ७५ लाख

काठमाडौं उपत्यकाको वातावरणीय स्वच्छता कायम गर्न ध्वनि, धुलो, वायु प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापन गर्न सहयोग गरिने भएको छ ।

वन तथा वातावरणका लागि सरकारले १६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा मुख्य सहरमा वायु गुणस्तर मापन केन्द्र राखिने भएको छ ।

काठमाडौं उपत्यकाको वातावरणीय स्वच्छता कायम गर्न ध्वनि, धुलो, वायु प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापन गर्न सहयोग गरिने भएको छ । यस्तै मुख्य मुख्य सहरमा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्न तथा वातावरण परीक्षण र अनुगमन कार्यलाई प्रभावकारी बनाउने बजेट व्यवस्था गरिएको छ । यस्तै स्वच्छ हराभरा र प्रदूषणमुक्त नेपाल अभियान सञ्चालन गरी जैविक विविधता तथा जलवायु परिवर्तन अनुकूलनमा सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक र गैरसकारी क्षेत्रबीच सहकार्य गरिने भएको छ ।

स्थानीय वातावरण अनुकूलका उच्च मूल्यका वन पैदावारहरुको विस्तार, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रोत्साहन गर्ने भएको छ । प्रदेश र स्थानीय तहसँगको सहकार्यमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाई गल्छी, पहिरो तथा खहरे नियन्त्रण र कृषि वन प्रणालीको प्रवद्र्धन तथा विस्तार गरिने उल्लेख छ । सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा जडिबुटी लगायत वन पैदावारमा आधारित उद्योग स्थापना गर्ने र वनजन्य कच्चा पदार्थमा आधारित निर्यातजन्य उद्योगहरुको स्थापना गर्न र उपकरण खरिदमा अनुदानको व्यवस्था गरेको छ ।