आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गरेपछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले ५ वर्षभित्रै मुलुकमा पूर्ण रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गरिने बताए ।
अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निर्माण र पर्यटन क्षेत्रमा व्यापक रोजगारी विस्तार गरिने दाबी गरेका छन् । उनले सार्वजनिक निर्माणबाट २ लाख व्यक्ति र पर्यटन क्षेत्रबाट करिब डेढ लाख व्यक्तिलाई रोजगारी सिर्जना गरिने दाबी गरेका हुन् ।
आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गरेपछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले ५ वर्षभित्रै मुलुकमा पूर्ण रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने स्थितिको अन्त्य गरिने बताए । सरकारले जेठ १५ गते आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको थियो । वार्षिक ठूलो सङ्ख्यामा श्रमबजारमा आउनेहरुलाई रोजगारी दिन सके देश समृद्धिको दिशामा अगाडि बढ्ने भन्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् निर्माणमा युवालाई काम लगाइने बताए । उनले पहिलो चरणमा निश्चित क्षेत्र तोकेरै अनिवार्य रोजगारी दिने व्यवस्था गर्ने पनि बताए ।
सरकारले अघि सारेका विकास निर्माणका कार्य अघि बढ्दा धेरै रोजगारी खुल्ने भन्दै उनले सङ्घीय सरकार, प्रदेश सरकार स्थानीय सरकारले एकआपसमा मिलेर कार्यक्रम कार्यान्वयन गर्दा रोजगारीका अवसरहरु पर्याप्त आउने दाबी गरे । सरकारले ५ वर्षभित्र ५० लाख पर्यटक नेपाल भित्र्याउने योजना अघि सारेकाले पनि पर्यटकीय क्षेत्रका पूर्वाधार निर्माण र सञ्चालनमा थप डेढ लाख रोजगारी सिर्जना हुने उनले दाबी गरे । त्यसैगरी सरकार विभिन्न क्षेत्रमा सुरु गरेका स्वरोजगार कार्यक्रमअन्तर्गत पनि ठूलो रोजगारी सिर्जना हुने र त्यसले धेरै व्यक्तिलाई स्वरोजगार बनाउँदा रोजगारी समस्या दीर्घकालीन रुपमा समाधान हुने बताए ।
बजेटमा नयाँपन नदेखिएको र पुरानै कार्यक्रमले निरन्तरता पाएको आलोचना भइरहेको तर्फ सङ्केत गर्दै उनले भने, ‘पहिलो सङ्घीय बजेट भएकाले यसअघिका बजेटसँग यो बजेट तुलना हुनै सक्दैन ।’ वाम गठबन्धनको घोषणापत्र निर्माण समूहको एक सदस्य आफू पनि भएको भन्दै उनले आफूले तय गरेको आर्थिक वृद्धि हासिल गरेर छाड्ने बताए । ‘माथिल्लो तामाकोशी परियोजना र मेलम्ची खानेपानी आयोजना आगामी वर्ष बन्ने भएकाले त्यसको मूल्य अभिवृद्धि हुने र त्यसले आर्थिक वृद्धिमा बल पुग्छ,’ उनले भने, ‘सरकारी लगानीसँगै निजी क्षेत्रको पनि लगानी लाग्दा लक्षित आर्थिक वृद्धि सम्भव छ ।’ उनले निजी क्षेत्रको लगानीलाई सरकारको परिपूरक लगानीका रुपमा लिइएको दाबी गरे । सरकारले भनेका क्षेत्रमा निजी क्षेत्र र वैदेशिक लगानी आएमा रातो कार्पेट ओछ्याएर स्वागत गर्ने भन्दै अर्थमन्त्री खतिवडाले केही कानुनी द्विविधाहरु भए त्यसलाई संशोधन गरिने बताए ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले ५ वर्षमा ज्येष्ठ नागरिकको भत्ता दोब्बर बनाउने कुरा घोषणापत्रमा उल्लेख गरिएको स्मरण गर्दै त्यसमा सरकार नअल्मलिएको बताए । ‘सामाजिक सुरक्षाअन्तर्गत भत्ता दिने, बिमा गर्ने र आवास बनाइदिने जस्ता धेरै स्किम पर्छन्,’ उनले भने, ’सरकार अहिले बिमा स्किमबाट अघि बढेको छ र आगामी दिनमा आवास नभएका वृद्धवृद्धालाई आवास योजना अघि बढ्छ ।’ आवास र स्वास्थ्य बिमा जोड्दा भत्ता बढाएकोभन्दा बढी हुने उनको भनाइ छ । बूढाबूढीको सबैभन्दा धेरै खर्च स्वास्थ्यमा हुने भन्दै वृद्धवृद्धाको स्वास्थ्यको हेरचाह सरकारले गरिदिने दाबी गरे । उनले मुलुकभर स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन भएपछि निःशुल्क औषधी कार्यक्रम खारेजी गरिने बताए ।