नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइत सहितको टोली भारत पुगेर धनगडी डिपोका लागि छुट्ने दुई ओटा ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेको हो ।
भारतको बनथरा डिपोमा आज दुई ओटा ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरिएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइत सहितको टोली भारत पुगेर धनगडी डिपोका लागि छुट्ने दुई ओटा ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेको हो ।
निगमका सहप्रवक्ता रामप्रसाद पाठकले आज बेलुकीसम्म सेक्युरिटी लकिङ सिस्टम जडान गरेर भारतबाट पठाउने र भोलि (बिहीबार) धनगडी डिपोमा गएर ताल्चा खोलिने जानकारी दिए । सुरुमा दुई ओटा ट्याङ्करमा लकिङ सिस्टम जडान गरिएपनि बिस्तारै सबै ट्याङ्करमा जडान गरिने पाठकको भनाइ छ ।
निगमले देशभरिका विभिन्न ट्याङकरमा तेल चोरी रोक्न सेक्युरिटी लकिङ सिस्टम राख्न सुरु गरिसकेको छ । निगमले यसअघि काठमाडौं लगायत विभिन्न डिपोका ट्याङकरमा लकिङ सिस्टम जडान गरिसकेको छ । मुलुकभर चल्ने १८ सय ट्याङकरमध्ये ६ सयमा व्यवसायीले आफ्नै लगानीमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेका छन् ।