सर्बियाका राष्ट्रपतिले गरे वाइवाई प्लान्टको उद्घाटन

काठमाडौं । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुचिसले रुमामा स्थापित वाइवाई चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्रान्ड वाइवाईलाई युरोपेली बजारमा उच्च महङ्खव दिँदै नवनिर्मित प्लान्ट उद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सहभागी भएका हुन् । यसअघि वाइवाईले सर्बियाको रुमास्थित प्लान्टबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो।

उद्घाटनका अवसरमा राष्ट्रपति भुचिसले सर्बियाको अर्थतन्त्रमा वाइवाईले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे । वाइवाईले सर्बियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महङ्खवपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । कार्यक्रममा सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक निर्वाण चौधरी एवं ग्रुपका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । युरोपेली बजारमा वाइवाई प्रवेशका लागि सर्बिया प्रस्थानबिन्दु बनेको अध्यक्ष चौधरीले बताए । वाइवाईको विश्वव्यापीकरण अभियानमा यो कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।

सर्बियामा उत्पादित वाइवाई युरोपभरका बजारमा वितरण हुने उनले जानकारी दिए । कच्चापदार्थ, दक्ष जनशक्तिको उपलब्धता, उत्पादन लागत मूल्यलगायतको विश्लेषणका आधारमा सर्बिया आफ्नो ग्रुपका लागि युरोप प्रवेशको रणनीतिक केन्द्र बनेको उनले बताए । उक्त प्लान्टमा वाइवाई उत्पादनका लागि हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पछिल्लो पुस्ताको मेसिनरी प्रयोग गरिएको छ । प्लान्टको उच्च व्यवस्थापनमा नेपाली व्यवस्थापक छन् भने चार सयभन्दा बढी सर्बियाका स्थानीय नागरिकले रोजगारी प्राप्त गर्नेछन् ।

रुमाबाट एक हजार किलोमिटरको दूरीभित्रै युरोपका थुप्रै ठूला बजार रहेकाले यहाँ उत्पादित वाइवाईलाई युरोपको बजारमा प्रवेश गर्ने प्रवेशद्वारका रुपमा लिइएको सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । एसियामा लोकप्रिय ब्रान्डका रूपमा स्थापित वाइवाई मध्यपूर्व र अमेरिकामा समेत लोकप्रिय छ।

सर्बियाका सरकारी निकाय तथा स्थानीय प्रशासनको सहयोगका कारण काम थालेको १६ महिनाभित्रै प्लान्ट स्थापना गर्न सम्भव भएको उनले बताए । प्लान्ट स्थापनासँगै अन्तर्रा्ष्ट्रिय लगानीकर्ताका लागि सर्बिया आकर्षक गन्तव्य रहेको पुष्टि भएको पनि उनको भनाइ छ । गत सेप्टेम्बरदेखि वाइवाईले उक्त प्लान्टबाट व्यावसायिक उत्पादन थालेको हो ।