विद्युत प्राधिकरणको अप्रेसनः लाइन ट्रिपिङ हटाउन उद्योगमा क्यापासिटर बैङ्क अनिवार्य

तराईका जिल्लामा विद्युत आपूर्तिमा भोल्टेजको समस्या देखिएको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा क्यापासिटर बैङ्क राख्न आग्रह गरेको छ । प्राधिकरणको विद्युत बितरण विनियमावली–२०६९ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरुपमा क्यापासिटर बैङ्क राख्नु पर्ने व्यवस्था गरेको छ । तर, विनियमाली विपरित अधिकांश उद्योगले क्यापासिटर बैक राखेका छैनन् । जसकाकारण उद्योग स्वयंले र आमउपभोक्ताले विद्युत आपूर्तिमा भोल्टेजको समस्या व्यहोरिरहेका छन् ।

प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युतमा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत लोडको मागलाई सन्तुलन राखी नियमित विद्युत प्रवाहका लागि क्यापासिटर बैक राखिन्छ । विद्युत प्राधिकरणले आफ्नो सबस्टेसनहरुमा क्यापासिटर बैंकहरु राखी प्रणालीमा भोल्टेज सुधार गरेको हुन्छ ।

क्यापासिटर बैक नहुँदा न्यून भोल्टेजको कारणले लाईन ट्रिप भई विद्युत आपूर्तिमा समस्या हुने गर्छ, जसको मारमा आम उपभोक्ता पर्छन् । यसबाट प्राधिकरणले अनियमित विद्युत आपूर्तिको आरोप मात्रै खेपिरहेको छैन, प्राविधिक चुहावट पनि बढिरहेको छ ।
प्राधिकरणको प्राविधिक टोलीले पूर्वका १४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ वटा उद्योगले मात्रै क्यापासिटर बैक राखेको फेला पारेको थियो ।

क्यापासिटर बैंक राखेका अधिकांश उद्योगले पनि आवश्यकता र तोकिएको मापदण्ड अनुसारको नराखेको पत्ता लागेको छ । प्राधिकरणले मुलुकभरका बितरण केन्द्रलाई क्यापासिटर बैक नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरिसकेको छ ।
धेरै उद्योगले क्यापासिटर बैङ्क नराखेको फेला परेपछि निश्चित समय दिएर उनीहरुलाई अनिवार्यरुपमा राख्न लगाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘ठूला–ठूला उद्योगले नै क्यापासिटर बैक नराखी दिएपछि अहिले मुख्यगरी तराईका जिल्लामा भोल्टेजको कारण लाइन ट्रिप हुने, विद्युतीय उपकरण नचल्ने लगायतका समस्या देखिएका छन्’,उनले भने ‘यसका लागि उद्योगलाई निश्चित समय दिएर क्यापासिटर बैक राख्न भन्छौं, हामीले दिएको समयमा राखेनन् भने विनियमावलीमा भएको व्यवस्थाअनुसार लाइन काट्नेसम्मको कारबाही गर्छौं ।’

नीजि ऊर्जा उत्पादकहरुले पनि आफ्नो जलविद्युत केन्द्रहरुबाट भोल्टज सुधारको लागि दिनु पर्ने ‘रियाक्टिभ पावर’ नदिएर ‘एक्टिभ पावर’ मात्र आपूर्ति गरिदिएकाले भोल्टेज सुधार गर्न कठिनाई हुने गरेको छ । भारतमा गर्मी बढेका कारण भोल्टेज ड्रप हुँदा त्यहाँबाट आयात भइरहेको विद्युत झनै कम भोल्टेजको रहँदा प्रणालीमा समस्या देखिएको छ । नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मीको कारण फ्यान तथा एसी चल्ने हुंदा गर्मी समयमा भोल्टेज ड्रपको समस्या अझ बढ्छ । यसकै कारण वुटवल, विराटनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा समय समयमा विद्युत आपूर्तिमा समस्या देखिएको छ ।

मध्य र सुदुरपश्चिममा जलविद्युत केन्द्र पर्याप्त नरहेको र भारतबाट आयातित विद्युत आपूर्ति गर्नु पर्दा गर्मीमा भोल्टेजको समस्या देखिएको हो । कालिगण्डकी, मस्र्याङ्दी लगायतका विद्युत केन्द्रबाट आपुर्ति गर्दा पनि लामो प्रसारण लाईनको कारणले भोल्टेज ड्रपको समस्या हुने गरेको छ । तराईमा गर्मी बढेसँगै विद्युत माग बढेको तर त्यही क्षेत्रमा रहेका अधिकांश उद्योगले क्यापासिटर बैङ्क नरखी दिंदा भोल्टेजमा आउने उतारचढावले विद्युत् आपूर्तिमा समस्या हुने, कम भोल्टेजको कारण पंखा, एसी, मोटर जस्ता विद्युतीय उपकरण नचल्ने, बत्ति पनि मधुरो बल्ने लगायतका समस्या देखिएका हुन् ।

भोल्टेजको समस्या समाधानका लागि ऊर्जा दक्षता कार्यक्रम अन्तर्गत विद्युत माग बढी हुने क्षेत्रमा ट्रान्सफर्मर थप्ने, जीर्ण अवस्थामा रहेका ट्रान्सफर्मर फेर्ने तथा मर्मत सम्भार गर्ने, नयाँ सब स्टेसन थप्ने, बितरण लाइन सुधार गर्ने लगायतका काम उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको घिसिङले बताए । साथै प्राधिकरणले अहिले उद्योगलाई अनिवार्य रुपमा क्यापासिटर बैक राख्न लगाउने,‘अन लोड ट्याप चेन्जर’ जडित ट्रान्सफर्मर रहेका सब स्टेसन थप्ने, सवस्टेसन तथा बितरण ट्रान्सफर्मरमा क्यापासिटर बैक राख्ने, नयाँ प्रसारण लाइन बनाउने, नीजि उत्पादकहरुलाई संझौतानुसारको र्याक्टिभ पावर सप्लाई गर्न लगाउने लगायतका काम अगाडि बढाइरहेको छ । क्षेत्रीय सन्तुलन रहने गरी जलविद्युत आयोजनाहरु निर्माण गर्ने दीर्घकालिन योजना अघि सारेको छ । ‘भोल्टेजमा सुधार गरी नियमित तथा गुणस्तरीय विद्युत आपूर्तिका लागि हाम्रा सव स्टेसनमा मात्रै नभएर बितरण ट्रान्सफर्मरमा समेत क्यापासिटर बैक राखिरहेका छौं’,घिसिङले भने,‘यसमा उद्योगले पनि सहयोग गर्नु प¥यो ।’

पहाडी जिल्लामा टाढा–टाढाबाट ११ र ३३ केभी प्रसारण लाइनबाट लैजाँदा विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न प्राधिकरणले छोटो–छोटो दुरीमा सवस्टेसन बनाउने लगायतका काम गरिरहेको छ । यसबाट कम तथा उच्च भोल्टेजको समस्या समाधान हुने र प्राविधिक चुहावट घट्ने प्राधिकरणले जनाएको छ । दीर्घकालीन रुपमा भैरहवा, विराटनगर, नेपालगञ्ज क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या समाधान गर्न त्यस क्षेत्रमा छुट्टै १३२ केभीको प्रसारण लाइन र सब स्टेसन बनाउन लागिएको छ ।