४ महिनामा वस्तु आयातका माध्यमबाट मात्रै राष्ट्रिय ढुकुटीमा ८६ अर्ब १५ करोड २७ लाख ५८ हजार रुपैयाँ कर योगदान भएको छ ।
पछिल्लो ४ महिनामा मुलुकमा ३ खर्ब ३६ अर्ब ५६ करोड ४ लाख ४७ हजार रुपैयाँको वस्तु भित्रिएको छ । चालू वर्षको कात्तिकसम्म गत आर्थिक वर्षभन्दा ११.५२ प्रतिशत बढी रुपैैयाँको वस्तु आयात भएको हो । गतवर्ष कात्तिकसम्म भने ३ खर्ब १ अर्ब ७८ करोड रुपैयाँ ७९ लाखबराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा निर्यात भने खासै बढेको छैन । गतवर्षको कात्तिकसम्मको तुलनामा ७.७ प्रतिशतले मात्रै निर्यात बढेर २६ अर्ब ३७ करोड ७६ लाख १९ हजार रुपैयाँको भएको छ । आयात अधिक र निर्यात थोरै हुँदा आयातनिर्यात अनुपात उच्च देखिएको हो । गतवर्ष आयातनिर्यात अनुपात १२.३ रहेकोमा अहिले १२.८ पुगेको छ । यसले व्यापार घाटा उच्च भएको देखाउँछ ।
४ महिनामा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ भएको छ । पेट्रोलियम पदार्थ मात्रै ४५ अर्ब ५८ करोड रुपैयाँ आयात भएको छ । मङ्सिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण सवारी चाप अत्यधिक हुँदा पेट्रोलियम पदार्थमा अधिक चाप परेको देखिन्छ । यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै नभएर सवारीसाधनको आयात पनि उच्च नै छ । २८ अर्ब ८० करोड रुपैयाँको सवारी आयात देखिएको ४ महिनामा आइरन एन्ड स्टिल पनि ३४ अर्ब ६३ करोड रुपैयाँको भित्रिएको छ ।
४ महिनामा वस्तु आयातका माध्यमबाट मात्रै राष्ट्रिय ढुकुटीमा ८६ अर्ब १५ करोड २७ लाख ५८ हजार रुपैयाँ कर योगदान भएको भन्सार विभागले जानकारी दिएको छ । कर राजस्वमा आयातित वस्तुको अधिक हिस्सा रहने भएकाले आयात बढ्दा कुल राजस्व बढ्ने र घट्दा घट्ने गरेको विगतको ट्रेन्ड छ । त्यसैगरी निर्याततर्फ भने कफी तथा चियाले अग्रस्थान ओगटेको छ । कफी तथा चिया २ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । आयात तथा निर्यात नै भारततर्फ सबैभन्दा बढी देखिएको छ । भारतबाट आयात ६५.६ प्रतिशत हुँदा निर्यात भने ५३.४ प्रतिशत देखिएको छ ।