उद्योगले १० प्रतिशत नाफा कमाउँछन् । १० प्रतिशत नाफा भनेको दुई अर्ब रुपैयाँ हुन्छ । सो नाफाबाट सरकारले २० प्रतिशत आयकर लिन्छ । २० प्रतिशत भनेको ४० करोड रुपैयाँ हो ।
औषधि उद्योगबाट वार्षिक ४० करोड रुपैयाँ आयकर उठाइरहेको सरकारले थोरै सहुलियत उपलब्ध नगराउँदा वार्षिक करोडौं रुपैयाँ राजस्व गुमाउने गरेको व्यवसायीहरुले दाबी गरेका छन् ।
सरकारले उद्योगका लागि आवश्यक पर्ने पूर्वनिर्मित भित्ता तथा झ्याल ढोका र हावापानी शुद्ध गर्ने मेसिन आयात गर्दा लाग्ने भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट)का कारण औद्योगिक क्षमता विस्तार नहुँदा करोडौं राजस्व गुम्ने स्थिति आएको हो । यी वस्तुमा भन्सार शुल्क र भ्याट नलिने बित्तिकै नेपालमा धेरै उद्योगले क्षमता विस्तार गर्न सहयोग मिल्ने व्यवसायीहरुले दाबी गरेका छन् । यी सामान ल्याउँदा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लाग्छ । एउटा उद्योगले यस्ता सामग्रीको खरिदमा २ करोड रुपैयाँ खर्चनुपर्छ । यसआधारमा एउटा उद्योगमा प्रयोग गर्ने यी वस्तु खरिद गर्दा सरकारलाई ५६ लाख रुपैयाँ भन्सार महशुल र भ्याटवापत राजस्व उठ्छ ।
सरकारले माथि उल्लिखित सामग्रीमा भ्याट, अन्तःशुल्क र भन्सार छुट दिने बित्तिकै नेपालमा थप १५ अर्ब रुपैयाँको औषधि उत्पादन बढ्ने नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहाल बताए । हाल औषधि उद्योगले वार्षिक २० अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ । ‘१५ अर्ब रुपैयाँको बजार थपिने बित्तिकै नेपाली औषधि उद्योगको बजार बढेर ३५ अर्ब रुपैयाँ पुग्छ’ उनले भने, ‘यी वस्तुमा भन्सार तथा भ्याट छुट दिँदा नयाँ उद्योग धमाधम खुल्छन् र औषधि उत्पादनले नयाँ गति लिनेछ ।’
कुल कारोबारबाट उद्योगले १० प्रतिशत नाफा कमाउँछन् । १० प्रतिशत नाफा भनेको ३५ अर्बको कारोबारमा साढे ३ अर्ब हुन्छ । अहिले नै २० अर्बको कारोबार भएको दुई अर्ब रुपैयाँ नाफाबाट २० प्रतिशत आयकरवापत ४० करोड राजस्व उठ्दै आएको छ ।
थप १५ अर्ब रुपैयाँका वार्षिक बजार बढ्दा उद्योगीले एक अर्ब ५० करोड रुपैयाँ थप नाफा कमाउँछन् । त्यसबाट व्यवसायीले सरकारलाई २० प्रतिशत आयकर तिर्दा पनि ३० करोड रुपैयाँ आयकर बुझाउने दाहालले जानकारी दिए । एउटा उद्योग सञ्चालनका लागि एक पटक आउने यी समग्रीमा भन्सारमा तिर्नुपर्ने ५६ लाख रुपैयाँबारबको भन्सार र भ्याट छुट दिँदा हरेक कम्पनीले वार्षिक २ करोड रुपैयाँ आयकर तिर्ने अवस्था आउँछ ।
सरकारको अहिलेको नीतिबाट ४० करोड रुपैयाँभन्दा बढी आयकर उठ्ने सम्भावना नभएको दाहालले जानकारी दिए । तर, व्यवसायीले राखेको सुझावलाई कार्यान्वयन गर्ने बित्तिकै ७० करोड रुपैयाँ आम्दानी आयकरबाटै हुने उनको भनाइ छ ।
त्यति मात्रै होइन, उद्योगीले २० लाख रुपैयाँको औषधि बिक्री गर्न एक जना कामदार लगाउँदै आएका छन् । १५ अर्ब रुपैयाँको औषधि बिक्री गर्न ७ हजार ५ सय मानिसले प्रत्यक्ष रोजगारी समेत पाउने दाहालले बताए ।
सरकारले एक ठाउँमा कडाइ गर्दा चौतर्फी असर परेको उनको भनाइ छ । सरकार राजस्वमुखी बन्दै गएकाले अन्य आम्दानीका बाटा बन्द भएको उनको भनाइ छ । सरकारले भन्सार, अन्तःशुल्क र भ्याटबाट उठाउने रकमभन्दा आयकरबाट ठूलो रकम उठाउन सक्छ । त्यसैगरी, सरकारले लिएको रोजगारी बढाउने लक्ष्यलाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।
यदि सरकारले पूर्वनिर्मित झ्याल ढोका ल्याउन भन्सार छुट दिने हो भने ९० प्रतिशत उद्योगको क्षमता २० देखि ३० प्रतिशत बढ्छ । त्यसैगरी, नयाँ मेसिन आयातमा भन्सार छुट दिने बित्तिकै अहिलेको बजार हिस्सा बढेर ८० प्रतिशत पुग्ने अध्यक्ष दाहालको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा औषधि उद्योगलाई आत्मनिर्भर बनाउन विशेष किसिमको संरक्षणको नीति लिइने उल्लेख गरेको छ । ‘तर, कार्य योजना केही आएको छैन,’ उनले भने, ‘हामीले राखेको कुरालाई सरकारले सम्बोधन गर्ने हो भने, औषधिमा धेरै परिवर्तन गर्न सकिन्छ ।’