औद्योगिक विवरण पेस नगर्ने उद्योगीलाई कारवाही

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए । “विभागमा दर्ता भएका उद्योग सञ्चालन भए/नभएको हेर्न विवरण अद्यावधिक गर्न लागेका हौँ”, उनले भने ।

उद्योग विभागले औद्योगिक विवरण पेस नगर्ने उद्योगीलाई कारवाही गर्ने भएको छ ।

विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए । “विभागमा दर्ता भएका उद्योग सञ्चालन भए/नभएको हेर्न विवरण अद्यावधिक गर्न लागेका हौँ”, उनले भने ।

उद्योग विभागअन्तर्गत दर्ता भएका करिब सात हजार ५ सय उद्योगमध्ये के कति सञ्चालनमा आएका र के कति सञ्चालनमा आएका छैनन् भन्नेबारेमा सूचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न लागेको भुसालले बताए ।

उद्योगको नाम, उद्योग रहेको स्थान, सम्पर्क व्यक्ति, उद्योग दर्ता नं र मिति, उद्योग सञ्चालन भएको मिति, उद्योग सञ्चालनको अवधि, कुल लगानी, विदेशी लगानी, रोजगार मजदुर, कच्चा पदार्थको प्रयोगलगायतका विषयवस्तु विवरणका साथ उद्योगले उपलब्ध गराउनुपर्ने हुन्छ ।

औद्योगिक व्यवसाय ऐनको दफा १२ ले उद्योगले तोकेको विवरण उद्योग दर्ता गर्ने निकायसमक्ष पेस गर्नुपर्ने प्रावधान रहेअनुसार विवरण पेस गर्नका लागि विभागले आग्रह गरेको हो । क्षमता र उत्पादनका आधारमा तोकिएको विवरण पेस नगर्ने उद्योगीलाई औद्योगिक व्यवसाय ऐनको दफा ४१ बमोजिम कारवाही गर्ने विभागले जनाएको छ ।

उद्योग विभागबाट हाल १० करोड रूपैयाँभन्दा कम विदेशी लगानीका साना उद्योग, १० देखि २५ करोडसम्मका मझौला उद्योग र २५ करोड रूपैयाँभन्दा बढी लगानीका ठूला उद्योग दर्ता हुँदै आएका छन् । रासस