२०६४ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर बिमा समितिमा स्वीकृति माग्दै आवेदन दिएको जीआईसीले ११ वर्षपछि अनुमति पाएर कारोबार थालनी गरेको छ ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल)ले बुधबारदेखि औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ । कम्पनीले हात्तीसारस्थित केन्द्रीय कार्यालयबाट १८औं निर्जीवन बिमा कम्पनीका रुपमा सेवा सुरु गरेको हो ।
२०६४ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर बिमा समितिमा स्वीकृति माग्दै आवेदन दिएको जीआईसीले ११ वर्षपछि अनुमति पाएर कारोबार थालनी गरेको छ । त्यतिबेला जीआईसीसहित अन्य कम्पनीले कार्यालय खोलेर अनुमतिको पर्खाइमा बसेपनि समितिले स्वीकृति नदिएपछि कार्यालय बन्द गरेका थिए ।
त्यतिबेला स्वीकृति माग्दै बसेका अधिकांश जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीले यसपटक स्वीकृति पाएका छन् । जीवन बिमा कम्पनीहरुले यसअघि नै कारोबार सुरु गरिसककेका छन् भने अन्य निर्जीवन बिमा कम्पनीहरु कारोबारको अन्तिम तयारीमा छन् । कम्पनीको कारोबार सुरुआत गर्दै सञ्चालक समितिका अध्यक्ष कुनाल क्यालले आगामी आर्थिक वर्षमा मुलुकभर ४५ शाखा सञ्जाल विस्तार गर्ने बताए ।
त्यस अवसरमा महाप्रबन्धक एसके तमोटले नागरिकमा बिमाको पहुँच अभिवृद्धि गर्ने, बिमा व्यवसायलाई स्वस्थ र प्रतिस्पर्धी बनाउन कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे । उनले जनताको घर दैलोमा बिमा सेवा उपलब्ध गराउन कम्पनीले कुनै कसर बाँकी नराख्ने बताए ।
कम्पनीमा विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनी तथा १ सय ८२ जना व्यक्तिगत संस्थापक सेयरधनी छन् । १ अर्ब चुक्ता पँुजी रहेको कम्पनीमा ७० प्रतिशत हिस्सा संस्थापक र ३० प्रतिशत सर्वसाधारणका लागि छुट्ट्याइएको छ ।