प्याकेजिङ इन्डस्ट्रिज लगाउँदा २८ प्रतिशत कर, आयात गरे १ प्रतिशत मात्रै

नेपालमा प्याकेजिङ उद्योग स्थापना गर्दा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र पाँच प्रतिशत अन्तःशुल्क तिर्नुपर्छ । तर, तयारी वस्तु भारतबाट ल्याउँदा एक प्रतिशत मात्रै भन्सार तिर्नुपर्ने नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले जानकारी दिए ।

काठमाडौं : नेपालमा प्याकेजिङ इन्डस्ट्रिज लगाउनुभन्दा तयारी सामान आयात गर्दा उद्योगीको २७ प्रतिशत बचत हुने भएपछि लगानीकर्ता आयातमा आकर्षित भएका छन् । सरकारको नीति नै लगानी प्रोत्साहित गर्नेभन्दा पनि राजस्व उठाउनेतिर बढी केन्द्रित भएकाले व्यवसायीले नेपालमा प्याकेजिङ उद्योग खोल्न नसकिएको बताएका छन् ।

नेपालमा प्याकेजिङ उद्योग स्थापना गर्दा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र पाँच प्रतिशत अन्तःशुल्क तिर्नुपर्छ । तर, तयारी वस्तु भारतबाट ल्याउँदा एक प्रतिशत मात्रै भन्सार तिर्नुपर्ने नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले जानकारी दिए ।
‘सोझै २७ प्रतिशत बचत हुने भएपछि नेपालमा किन प्याकेजिङ उद्योग लगाउनु पर्यो ?’ अध्यक्ष दाहालले प्रश्न गर्दै भने, ‘एक प्रतिशत भन्सार तिरेर तयारी सामान नेपाल ल्याउन सकिन्छ ।’

उनका अनुसार नेपालमा १६ ओटा प्याकेजिङ उद्योग सञ्चालित छन् । ती उद्योग अहिले बन्द हुने अवस्था पुगेको दाहालले जानकारी दिए । ‘भारतबाट एक प्रतिशत भन्सारदरमा सामान ल्याउन पाइने भएपछि नेपालका उद्योगले उत्पादन गरेको वस्तु कसले खरिद गर्छ ?’ उनले भने, ‘सस्तामो सामान ल्याउन पाइने भएपछि सम्पूर्ण उद्योग भारतबाटै कच्चापदार्थ ल्याउने गरेका छन् ।’

हाल नेपालमा पाँच अर्ब रुपैयाँबराबरको त्यस्ता सामग्री नेपाल भित्रिने गरेको छ । यदि सरकारले आयातमा २८ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुमा कम कर लगाउने हो भने नेपालमा धेरै प्याकेजिङ उद्योग स्थापना हुने दाहाल बताउँछन् ।

हरेक उद्योगले उत्पादन गरेको वस्तुलाई प्याकेजिङ गर्नुपर्छ । त्यस्ता उत्पादन गर्ने उद्योगलाई प्रोत्साहित गरे रोजगारीसमेत बढ्ने उनको भनाइ छ ।
खासगरी, डेरी, औषधि, खाद्यान्न उद्योगलगायतलाई त्यस्ता वस्तुको आवश्यकता पर्छ । अहिले ९५ प्रतिशत भारतबाट आयात हुँदै आएको दाहालले जानकारी दिए ।