पन्ध्र महिनामा झन्डै ११ हजार मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स

विद्युत् विकास विभागको तथ्याङ्क अनुसार २०७४ बैशाखदेखि हालसम्म १० हजार ९ सय ७३ मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स दिइएको हो ।

विद्युत् विकास विभागले पछिल्लो पन्ध्र महिनाको अवधिमा झन्डै ११ हजार मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स प्रदान गरेको छ । विद्युत् विकास विभागको तथ्याङ्कअनुसार २०७४ बैशाखदेखि हालसम्म १० हजार ९ सय ७३ मेगावाटका आयोजनालाई सर्भे लाइसेन्स दिइएको हो ।

सोही अवधिमा २५ मेगावाटभन्दा कमका एक हजार ३ सय ५० मेगावाटका विभिन्न आयोजनालाई सर्वेक्षण अनुमति दिइएको छ । त्यसैगरी, २५ देखि १ सय मेगावाटसम्मका एक हजार ७ सय मेगावाटका आयोजनाले सर्भे लाइसेन्स लिएका छन् भने सयभन्दा माथिका ७ हजार ९ सय मेगावाटका आयोजनालाई सर्वेक्षण अनुमति दिइएको विभागले जनाएको छ ।

सर्वेक्षण अनुमति पाउने सबैभन्दा ठूलो आयोजना ६ सय ८८ मेगावाटको बेतन कर्णाली हो । त्यसैगरी ६ सय ५० मेगावाटको तामाकोसी—३, ४ सय ५० मेगावाटको किमाथाङ्का अरुण, ४ सय ४० मेगावाटको भेरी—१ र ४ सय १० मेगावाटको नालस्याउगढ जलाशय आयोजनाको पनि सर्भेक्षण अनुमति दिइएको छ । उक्त अवधिमा केही नयाँ आयोजनाहरुको पनि सर्वेक्षण अनुमति दिइएको विभागले जनाएको छ ।

विगतका वर्षहरुभन्दा पछिल्लो १५ महिनाको अवधिमा केही बढी धेरै आयोजनाहरुलाई सर्वेक्षण अनुमति दिइएको विभागका सूचना अधिकारी निशा रिजालले जानकारी दिइन् । सर्भे लाइसेन्सको वैधता ५ वर्षको हुने व्यवस्था छ । सोही अवधिभित्र नै आयोजनाले जेनेरेसन लाइसेन्सका लागि निवेदन दिने र विभागले निर्माण अनुमतिपत्र दिइसक्नुपर्ने व्यवस्था छ ।