सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा बसेका व्यवसायीलाई मन्त्री यादवले निर्देशन दिँदै भने, ‘यसअघिसम्म उद्योगीको सरकार हुन्थ्यो, अहिले जनताको सरकार आएको छ, तपाईंहरुले भनेअनुसार चल्दैन, सचेत भएर बस्नुहोस् ।’
सरकारले पछिल्लो पटक विभिन्न बहानामा उद्योगी व्यवसायीलाई धरपकड गर्ने र आतङ्कित पार्ने काम गरेको भन्दै सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका आधा दर्जनभन्दा बढी व्यवसायीलाई उद्योगमन्त्री मातृका यादवले सरकार उद्योगी – व्यवसायीको नभएको चेतावनी दिएका छन् ।
उद्योगमन्त्री यादवलाई भेट्न पुगेका उद्योगीलाई यादवले धम्कीपूर्ण भाषा प्रयोग गर्दै यो सरकार उद्योगीको नभई जनताको भएको र त्यहीअनुसार बुझ्न निर्देशनसमेत दिए । सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा बसेका व्यवसायीलाई मन्त्री यादवले निर्देशन दिँदै भने, ‘यसअघिसम्म उद्योगीको सरकार हुन्थ्यो, अहिले जनताको सरकार आएको छ, तपाईंहरुले भनेअनुसार चल्दैन, सचेत भएर बस्नुहोस् ।’
उद्योग क्षेत्रमा देखिएको समस्याबारे जानकारी गराउन आधा दर्जनभन्दा बढी उद्योगी मन्त्रीको कार्यकक्षमा गएका थिए । तर, मन्त्रीले उद्योगीले लिएर गएका समस्या सुन्न भन्दा पनि उल्टै धम्क्याएर पठाएको एक उद्योगीले क्यापिटल नेपाललाई बताए । ‘हामी हाम्रो समस्या सुनाउन गएका थियौं, तर उहाँले उद्योगी भनेको जनता नै होइन जस्तै गरेर कुरा गर्नुभयो,’ ती उद्योगीले भने ।
उद्योग क्षेत्रमा केही दिनदेखि समस्या बढ्दै गएको छ, त्यही समस्या समाधानको उपाय खोज्न हामीहरु मन्त्रीसमझ पुगेका थियौं तर, मन्त्री यादवले कुराकानी सुरु गर्दा नै ‘यो सरकार जनताको हो, त्यहीअनुसार बुभ्mनुहोस्, तबमात्रै राम्रो हुन्छ,’ भन्दै धम्काएको बैठकमा सहभागी अर्का उद्योगीले भने ।
मन्त्री यादवले त्यसो भनेपनि व्यवसायीले हामी जनता होइनौं भनेर प्रतिउत्तर गरेका थिए । ‘उद्योगी पनि जनता हो,’ मन्त्रीको जवाफ आइसकेपछि एक व्यवसायीले भने, ‘जनता अलग र उद्योगी अलग हुन सक्दैन ।’ ‘व्यवसायीले उद्योग क्षेत्रमा देखिएको समस्या उद्योग मन्त्रालयमा नराखे कुन मन्त्रालयमा राख्ने ?’ एक व्यवसायीले भने, ‘समस्या लिएर जाँदा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गर्न मिल्छ ?’
व्यवसायीबीच मन्त्रीले ‘म काम नगर्ने कर्मचारीलाई बाथरुममा थुन्ने मन्त्री हुँ’ समेत भन्न भ्याए । उद्योगका कारण जनतालाई अहित हुने काम भएमा सरकार कुनै हालतमा पछि नहट्ने मन्त्री यादवले जानकारी दिए ।
उद्योगीमाथि सरकारको निरन्तरको धरपकड, विभिन्न बहानामा व्यवसायीलाई पक्राउलगायतका समस्या बढ्दै गएपछि उद्योगीहरु मन्त्रालय पुगेका थिए । तर, मन्त्रीको आश्चर्यजनक प्रतिक्रिया आएपछि उद्योगीहरु त्रसित भएको अर्का एक उद्योगीले बताए ।