काठमाडौं एयरपोर्टमा एक लिटर तेल बेच्दा एक रुपैयाँ ‘घुस’ !

‘एयरलाइन्स तथा हेलिकप्टरले प्रतिलिटर एक रुपैयाँ घुस नदिए, रिफिलरले तेल नै हाल्दिँदैनन्,’ एक एयरलाइन्स कम्पनीका सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘रिफिलरको अभाव देखाउने र घन्टौंसम्म जहाज तथा हेलिकप्टरमा तेल नहाल्ने गरिरहेका हुन्छन्, तर जब प्रतिलिटर एक रुपैयाँ उपलब्ध गराइन्छ, त्यसपछि तत्काल रिफिल हुन्छ ।’

नेपाल आयल निगमको काठमाडौं एयरपोर्टको डिपोबाट प्रतिलिटर हवाई इन्धन बिक्री गर्दा रिफिलरले एक रुपैयाँ ‘घुस’ लिने गरेको खुलेको छ ।

एयरपोर्टमा रहेका रिफिलरले एयरलाइन्स तथा हेलिकप्टरमा तेल हालेपछि प्रतिलिटर एक रुपैयाँ घुस माग्ने गरेको खुलेको हो । ‘एयरलाइन्स तथा हेलिकप्टरले प्रतिलिटर एक रुपैयाँ घुस नदिए, रिफिलरले तेल नै हाल्दिँदैनन्,’ एक एयरलाइन्स कम्पनीका सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘रिफिलरको अभाव देखाउने र घन्टौंसम्म जहाज तथा हेलिकप्टरमा तेल नहाल्ने गरिरहेका हुन्छन्, तर जब प्रतिलिटर एक रुपैयाँ उपलब्ध गराइन्छ, त्यसपछि तत्काल रिफिल हुन्छ ।’

स्रोतका अनुसार रिफिलरले विगत लामो समयदेखि एयरलाइन्स कम्पनीबाट प्रतिलिटर तेल बिक्री गरेबापत एक रुपैयाँ घुस लिँदै आएका छन् ।

एयरपोर्ट डिपोले हेलिकप्टरमा तेल रिफिल गर्न एक जना रिफिलर राखेको छ । त्यसैगरी, आन्तरिक जहाजका लागि दुई जना रिफिलर राखेको छ । रिफिलरको अभाव देखाउँदै लामो समयसम्म जहाज तथा हेलिकप्टरमा तेल नहाल्ने तर, कमिसनको कुरा मिलेपछि छिनभरमै तेल हाल्ने गरेको स्रोतको दाबी छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले एयरपोर्ट डिपोका कर्मचारीले रिफिल गर्दा घुस लिएको थाहा पाए, तत्काल बर्खास्त गर्ने बताए । ‘एक रुपैयाँ घुस लिएर तेल बिक्री गर्छन् भन्ने कुरा मैले भर्खरै सुनें,’ उनले भने, ‘यदि यो कुरा पुष्टि भए रिफिलरलाई तत्काल कारबाही हुन्छ ।’

प्रवक्ता गोइतले एयरपोर्ट डिपो प्रमुखलाई यस विषयमा छानबिन गर्न निर्देशन दिएको बताए । ‘मैले एयरपोर्ट डिपो प्रमुखलाई तत्काल छानबिन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘सत्य तथ्य कुरा बाहिर आउँछ ।’

खासगरी काठमाडौं बेस रहेर उड्ने हेलिकोप्टर तथा एयरलाइन्सलाई प्रतिलिटर एक रुपैयाँ घुस लिएर मात्रै तेल बिक्री हुँदै आएको छ । रिफिलरले उठाएको पैसा निगमका हाकिमसम्म भाग पुग्ने गरेकोे स्रोतको दाबी छ ।

‘रिफिलरले पैसा उठाउँदै माथिल्लो निकायसम्म बुझाउनु पर्छ भन्दै एक रुपैयाँ लिने गरेको छ,’ स्रोतले भन्यो, ‘यो क्रम लामो समयदेखि चल्दै आएको छ ।’