तेल भर्दा कर्मचारीले खाजा खर्च लिएको पुष्टि

आन्तरिक तर्फका जहाज तथा हेलिकप्टरमा तेल भर्दा रिफिलरले प्रतिलिटर एक रुपैयाँ घुस लिने गरेको समाचार बाहिर आएपछि छानबिन सुरु गरिएको एयरपोर्ट डिपो प्रमुख मनोज ठाकुरले जानकारी दिए ।

जहाज तथा हेलिकप्टरमा तेल भर्दा रिफिलरले प्रतिलिटर एक रुपैयाँ घुस लिँदै आइरहेको समाचार प्रकाशित भएपछि नेपाल आयल निगमले छानबिन सुरु गरेको छ ।

आन्तरिक तर्फका जहाज तथा हेलिकप्टरमा तेल भर्दा रिफिलरले प्रतिलिटर एक रुपैयाँ घुस लिने गरेको समाचार बाहिर आएपछि छानबिन सुरु गरिएको एयरपोर्ट डिपो प्रमुख मनोज ठाकुरले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म हाम्रो जानकारीमा यसरी कर्मचारीले पैसा खान्छन् भन्ने थिएन । तर, समाचार प्रकाशित भएपछि डिपोले सबै कर्मचारीसँग बुझ्दा खाजा खर्चको रुपमा पैसा लिने गरेको पाइएको डिपो प्रमुख ठाकुरले जानकारी दिए ।

रिफिलरले विभिन्न एयरलाइन्स तथा हेलिकप्टरमा तेल भरेबापत खाजा खर्च लिने गरेको पुष्टि भएको ठाकुरले जानकारी दिए । ‘खाजा खर्च भनेर पैसा लिने गरेको पाइएको छ,’ उनले भने, ‘त्यसरी पैसा लिनु गैरकानुनी हो ।’

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खाजा खर्चको नाममा पैसा लिनु गैरकानुनी भएको बताए । त्यस्ता कर्मचारीलाई तत्काल स्पस्टीकरण सोधेर कारबाही गरिने बताए ।

‘निगमले तलब भत्ता उपलब्ध गराएको छ,’ उनले भने, ‘अनि खाजा खर्च भन्दै एयरलाइन्स तथा हेलिकप्टर कम्पनीबाट पैसा लिनु सरासर गल्ती हो । कारबाही हुन्छ ।’

निमित्त कार्यकारी निर्देशक भट्टराईले एयरपोर्ट डिपोले पालैपालो जहाजमा तेल हाल्ने गरेको बताए । यदि रिफिलरले घुस मागेको भए तत्काल निगमलाई जानकारी गराउन वायु सेवा सञ्चालकलाई आग्रह समेत गरे ।

‘त्यसरी रिफिलरले पैसा मागे सिधै निगमलाई जानकारी गराउनुस्,’ उनले भने, ‘के कारबाही गर्नुपर्छ हामी गर्छौं ।’ कुन कुन कर्मचारीले पैसा लिएका छन्, निगमले छानबिन गर्छ ।’