विद्युत् वितरण प्रणाली सुधार्न एआईआईबीको ११ करोड सहयोग

एआईआईबीको तेस्रो गभर्नर्स बैठकमा भाग लिन भारतको मुम्बई गएका अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा नेपालका तर्फबाट अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र एआईआईबीका उपाध्यक्ष डा जोखीम भोन एम्सबर्गले हस्ताक्षर गरेका थिए । नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने प्रस्तावमा अब एआईआईबीले सहयोग गर्नेछ ।

मध्य र पश्चिम नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्न ११ करोड रुपैयाँबराबरको सहयोग गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) तयार भएको छ । मध्य र पश्चिम नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने उद्देश्यले आयोजना प्रस्ताव तयार गर्ने प्रयोजनका लागि करिब ११ करोड रुपैयाँ (१० लाख अमेरिकी डलर) बराबरको प्राविधिक सहायतामा नेपाल र एआईआईबीबीच सम्झौता भएको छ । एआईआईबीको तेस्रो गभर्नर्स बैठकमा भाग लिन भारतको मुम्बई गएका अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा नेपालका तर्फबाट अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र एआईआईबीका उपाध्यक्ष डा जोखीम भोन एम्सबर्गले हस्ताक्षर गरेका थिए । नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने प्रस्तावमा अब एआईआईबीले सहयोग गर्नेछ ।

भारतमा रहँदा अर्थमन्त्री खतिवडाले एआईआईबीका अध्यक्ष जिन लिकनसँग भेटी नेपालमा रेलमार्ग, द्रुतमार्ग, पर्यटकीय पूर्वाधार र जलविद्युतजस्ता ठूला आयोजनामा लगानी आवश्यक रहेकाले लगानी गर्न एआईआईबीलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले त्यस अवसरमा तामाकोसी पाचौँ जलविद्युत् आयोजनामा लगानी गर्न प्रस्ताव गरेका छन् भने अन्य आयोजनाहरु पछि पेस गर्ने बताएका छन् । १०१ मेगावाट क्षमताको माथिल्लो तामाकोसी पाँचौ जलविद्युत् आयोजना निर्माण गर्न १५ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । बैङकका अध्यक्ष जिनले आयोजनाको अध्ययन गरी सम्भाव्य देखिए तुरुन्तै लगानीको निर्णय लिइने आश्वासन दिएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा जिनले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा पनि धेरै विषयमा छलफल भएको भन्दै नेपालले पेस गरेका आयोजना अध्ययन गरी निर्णय लिइने बताएका थिए ।

सरकारले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ‘क्यास्केड प्रोजेक्ट’ का रुपमा अघि बढाउन खोजिरहेको छ । जर्मन परामर्शदाता कम्पनी ल्हामेहरले विस्तृत इन्जिनियरिङ र ड्रइङको काम गरिरहेको छ ।

गभर्नर्स बैठकमा अर्थमन्त्री खतिवडाले सहरीकरणलाई ५ किसिमका दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिएका छन् । उनले पूर्वाधार, जमिन प्रयोगको नीति र जनसङ्ख्याका आधारमा सहरीकरणको व्यवस्थापन हुनुपर्ने लागयतका विषयमा जोड दिएका थिए ।

गभर्नर्स बैठकका अवसरमा राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले एआईआईबीका अर्का उपाध्यक्ष डिजे पाण्डियनसँग भेट गरेका छन् । त्यसअवसरमा पनि उनले नेपालको पूर्वाधार क्षेत्र– सडक, एअरपोर्ट, जलविद्युतलगायतका क्षेत्रमा लगानी गर्न अनुरोध गरेका थिए ।