दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै

विद्युत् उत्पादनका लागि यहाँका एक हजार ७६ घरधुरीले प्रतिपरिवार १५ देखि ३० हजार रूपैयाँसम्म उठाएका थिए । आयोजना निर्माण भए दुई हजार दुर्इ सय घरधुरी लाभान्वित हुनेछन् । त्रिवेणी गाउँपालिका–१, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिका–११ र १२ का नागरिक लाभान्वित हुनेछन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ ।

त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झन्डै आठ करोड रूपैयाँको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गर्न लागेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको पाँच करोड, स्थानीयवासीको दुई करोड र सिभिल बैङ्कको एक करोड रूपैयाँ ऋणमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

अहिलेसम्म आयोजना निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । नहर निर्माणको काम ९० प्रतिशत सकिएको सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए । आयोजना निर्माणको प्राविधिक जिम्मा गौरा कन्सट्रक्सन र हाइड्रो इनर्जीले लिएका छन् । डेढ वर्षमा काम सम्पन्न गर्ने गरी २०७३ साल माघमा सम्झौता भएको थियो ।

असार मसान्तसम्म काम सक्नुपर्नेछ । विद्युत् उत्पादनका लागि यहाँका एक हजार ७६ घरधुरीले प्रतिपरिवार १५ देखि ३० हजार रूपैयाँसम्म उठाएका थिए । आयोजना निर्माण भए दुई हजार दुर्इ सय घरधुरी लाभान्वित हुनेछन् । त्रिवेणी गाउँपालिका–१, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिका–११ र १२ का नागरिक लाभान्वित हुनेछन् । रासस