उपत्यकामा ८२ अर्ब ८७ कराेड रुपैयाँका ५ हजार ४ सय आवास

प्रतिवेदनले मासिक कुल एकाइको ३.१ प्रतिशत एकाइ बिक्री हुने गरेको औंल्याएको छ । अब कुनै नयाँ आवास परियोजना नआए बाँकी आवास एकाइ अबको छदेखि सात महिनाका लागि पुग्ने देखिन्छ ।

काठमाडौं उपत्यकाभित्र विभिन्न आवास विकासकर्ता कम्पनीहरुमार्फत ८२ अर्ब ८७ कराेड ६० लाख रुपैयाँबराबरको ५ हजार ४ सय १९ आवास एकाइहरु निर्माण भएको छ । ‘आउटलुक अफ हाउजिङ मार्केट अफ काठमाडौं २०१८–२०१९’ सार्वजनिक गर्दै शुक्रबार यो जानकारी दिइएको हो ।

प्रतिवेदनअनुसार हाल १ हजार ९० एकाइ बिक्री हुन बाँकी छ । त्यसमध्ये पनि ५ सय ४१ एकाइ छुट्टा छुट्टै घर हुन् भने बाँकी अपार्टमेन्ट हुन् । प्रतिवेदनले मासिक कुल एकाइको ३.१ प्रतिशत एकाइ बिक्री हुने गरेको औंल्याएको छ । अब कुनै नयाँ आवास परियोजना नआए बाँकी आवास एकाइ अबको छदेखि सात महिनाका लागि पुग्ने देखिन्छ ।

अध्ययनमा ४३ आवास (हाउजिङ तथा अपार्टमेन्ट) परियोजनाहरुलाई समेटिएको थियो । जसमा २०७२ बैशाखको भूकम्पअघि आएका २३ र भूकम्पपछि बनेका २० आवास परियोजनाहरुबाट अध्ययन स्याम्पलिङ गरिएको हो । उपत्यकामा व्यवस्थित रुपमा विकास गरिएका यस्ता आवास परियोेजनामा बिक्री हुन बाँकी सबैभन्दा बढी (४० प्रतिशत) आवास एकाइ एकदेखि डेढ करोड मूल्यका छन् ।

हाउजिङ तथा अपार्टमेन्टमा गरेको लगानीको औसत वार्षिक प्रतिफल करिब साढे १२ प्रतिशत रहेको अध्ययनले देखाएको छ । जसमा भाडा (रेन्टल) आय औसत ३.२ प्रतिशत र प्रोपर्टीको मूल्यमा ९.५ प्रतिशतको वृद्धि भएको छ । अपार्टमेन्टभन्दा होचा घरहरुको मूल्य वृद्धि (प्राइस एप्रिसिएसन) अधिक हुने गरेको छ । भूकम्पअघि घरकोभन्दा अपार्टमेन्टहरुको मूल्य वृद्धि उत्साहजनक भएपनि भूकम्पपछि छुट्टै घरहरुको मूल्यमा राम्रो सुधार आएको छ ।

हाउजिङको बजार अवस्थासम्बन्धी अनुसन्धान सन् २०१८ को मार्च १७ देखि २३ सम्म गरिएको हो । सो अवधिमा हाउजिङ कम्पनी तथा परियोजनाहरु, सम्बन्धित सरकारी निकायहरु अन्य सरोकारवाला सङ्घसंस्था तथा व्यक्तिहरु, उपभोक्तालगायतसँग अध्ययन टोलीले प्रत्यक्ष भेटेर प्रश्नावली तथा विभिन्न सर्भेका विधिहरुको प्रयोग गरी सूचना तथा जानकारी, तथ्य सङ्कलन गरेको थियो । त्यस्तै, असार १ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना भएको प्रोपर्टी एक्स्पो तथा सोही दौरान आयोजित दुई दिने हाउजिङ समिटमा सहभागीहरुबीच पनि आवश्यक सूचनाका लागि सर्भे गरिएको थियो ।

अन्तर्राष्ट्रिय रियल इस्टेट विज्ञ डा सोपोन पोर्नचोक्चाईको नेतृत्वमा बृहत ग्रुपले सो अनुसन्धान गरेको हो ।