मदिराको गुणस्तर परीक्षण कसले गर्ने ? सरकारी निकाय मौन

बजारमा विदेशी तथा स्वदेशी उत्पादनको ठूलो परिमाण भए पनि ती मदिराको गुणस्तर परीक्षण हुने गरेको छैन । हार्ड ड्रिङ्क्स, भोड्का, वाइन तथा बियर आदिको गुणस्तर परीक्षणबिनै बिक्री भइरहेको हो ।

आयातीत तथा स्वदेशी उद्योगले उत्पादन गरेको मदिराको गुणस्तर परीक्षणबिनै बजारमा पुग्ने गरेको छ ।

बजारमा विदेशी तथा स्वदेशी उत्पादनको ठूलो परिमाण भए पनि ती मदिराको गुणस्तर परीक्षण हुने गरेको छैन । हार्ड ड्रिङ्क्स, भोड्का, वाइन तथा बियर आदिको गुणस्तर परीक्षणबिनै बिक्री भइरहेको हो ।

सरकारले कानुन बनाएर मदिरा उद्योगको गुणस्तर परीक्षण गर्न नसकेको राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमिल्सेनाले जानकारी दिए ।

‘राजस्व छली, अन्तःशुल्क छले/नछलेको विषय सरकारले अनुगमन गर्छ,’ तिमिल्सेनाले भने, ‘तर, आजसम्म मदिराको गुणस्तर परीक्षण भएको छैन ।’ राज्यले मदिराजन्य उद्योगबाट वार्षिक अर्बौं रुपैयाँ राजस्व उठाउँदै आए पनि गुणस्तरमा कुनै ध्यान दिन नसकेको उनको भनाइ छ । ‘अहिले उद्योगीले असल–कमसल जस्तो उत्पादन बजारमा पठाइरहेका छन्, उपभोक्ताले खाइरहेका छन्,’ उनले भने, ‘उद्योगीले आफ्नो उत्पादनलाई नराम्रो भन्ने कुरै भएन ।’

सरकारले दैनिक उपभोग्य वस्तुको अनुगमन तथा नियमन गर्ने गरेको छ । तर, मदिरा उद्योगको कुनै पनि गुणस्तर परीक्षण नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले बताए ।

‘अहिलेसम्म मदिरा उद्योगले उत्पादन गरेको मदिराको गुणस्तर परीक्षण भएको छैन,’ उनले भने, ‘अब कानुनी दायरमा ल्याउने र गुणस्तर परीक्षण गर्ने योजना बनाएका छौं ।’ नेपालमा दस ओटा ब्रुअरी छन् । यी कम्पनीले ७० भन्दा बढी ब्रान्डमा मदिरा उत्पादन गरी बिक्री वितरण हुने गरेको छ ।
उद्योगले जस्तो उत्पादन गरेका छन्, त्यसैलाई गुणस्तरीय मानेर खानुपर्ने उपभोक्ताको बाध्यता छ । सरकारले दूध, पानी, खानेतेललगायत वस्तुको परीक्षण गरेपनि मदिराको गुणस्तर परीक्षण गर्न सकेको छैन ।

हरेक कम्पनीले आफ्नो उद्योगमा ल्याब राखेका छन् । तर, सरकारले बेला बेलामा उद्योगबाट नमुना लिएर सरकारी ल्याबमा परीक्षण गर्ने गरेको छ । सरकारी ल्याबमा परीक्षण गर्दा खराबी देखिए, उद्योग बन्द समेत गर्ने गरेको छ । तर, सरकारले मदिरा परीक्षण गर्ने ल्याब समेत राखेको छैन ।

सरकारले मदिराको गुणस्तर परीक्षण गर्ने जिम्मा खाद्य विभागलाई दिने बताए पनि अहिलेसम्म त्यसले पूर्णता पाउन सकेको छैन । सरकारी सक्रियता कम भएकै कारण धेरैजसो उद्योगीले गुणस्तरहीन मदिरा उत्पादन गरेर बजारमा पठाउने गरेको तिमिल्सेनाले जानकारी दिए ।