लिची खेतीमा हुँगीका किसानको आकर्षण बढ्दो

किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिक लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन् ।

पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ ।

व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिक लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन् ।

किसानले फलाएको लिचीलाई प्रतिकिलो ७० रूपैयाँमा बोटबाट नै खरिद हुँदै आएपछि किसान खुशी छन् । पाल्पाको हुँगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाका स्थानीय बजारमा खपत हुँदै आएको छ । हुँगीमा उत्पादित लिची राम्रो भएकाले बजारका लागि समस्या नहुने लिची किसान मीनप्रसाद अर्यालले बताए ।

पहाडी जिल्ला पाल्पाको हुँगीमा उत्पादित लिची नेपालकै उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ । हुगीमा उत्पादित लिचीमा बियाँ सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायी दिनेश अर्यालले बताए ।

उनले हुँगीबाट तानसेन जाने सिधा बाटो नहुँदासम्म आफूले स्याङ्जाको गल्याङ्मा लिची बोकेर बजारको खोजी गरेको बताए । कालीगण्डकी करिडाेर विस्तार भएपछि यहाँका किसान यातायातको पहुँचमा छन् ।

लिची खेती गरेका अर्जुनदेव पन्त करिब २०० बोटबाट अहिले दुई लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् । सोही स्थानका जोगबहादुर पछाई, जंगबहादुर सार्की, दुर्गाप्रसाद अर्याल, मीनप्रसाद अर्याल, बाबुराम पछाई, दानबहादुर पछाई, दीपक पछाई, अर्जुन पछाईले गाउँमा ठूलो मात्रामा लिची उत्पादन गर्न सफल भएका छन् ।

लिची खेतीबाट वार्षिक ५० हजारदेखि दुई लाख ५० हजार रूपैयाँ आम्दानी गर्ने करिब २० जनाभन्दा बढी किसान छन् । समतल र गर्मी मौसममा लिची राम्रो हुने गर्दछ ।

किसान पछिल्लो वर्ष लिचीखेतीतर्फ आकर्षित भएपछि आयस्रोत बढेको र पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने करीब सय घरपरिवारभन्दा बढी रहेको व्यवसायी अर्यालले जानकारी दिए । मकै उत्पादन गर्दै आएका यहाँका किसानले आगामी दिनमा मकैको बारीमा व्यावसायिक लिची खेती गर्ने सोचमा छन् । रासस