भोटेकोसीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता सेयर उनीहरुलाई दिइने बोर्डमा दिएको निवेदनमा उल्लेख छ ।
मध्य भोटेकोसी जलविद्युत् कम्पनीले कम्पनीका संस्थापक सेयर लगानीकर्ता तथा ऋणदाता संस्थाका कर्मचारी र सञ्चयकर्तालाई साधारण सेयर विक्री गर्न स्वीकृति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । भोटेकोसीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता सेयर उनीहरुलाई दिइने बोर्डमा दिएको निवेदनमा उल्लेख छ ।
बोर्डमा दिएको निवेदनअनुसार सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता (जारी पूँजीको १९ दशमलव ५ प्रतिशत), संस्थापक कम्पनीका कर्मचारीलाई २१ लाख कित्ता (जारी पूँजीको ३ दशमलव ५ प्रतिशत) र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता (जारी पूँजीको १ प्रतिशत) सेयर दिनेछ ।
बोर्डले स्वीकृति दिएपछि मात्रै यी संस्थालाई सेयर दिन मध्य भोटकोसीलाई बाटो खुल्नेछ । त्यसपछि मात्रै कम्पनीले पीडित स्थानीयबासी र सर्वसाधारणमा प्राथमिक निष्काशन (आईपीओ) विक्री गर्नेछ । आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाका लागि ६० लाख कित्ता (जारी पूँजीको १० प्रतिशत) र सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई ९० लाख कित्ता (जारी पूँजीको १५ प्रतिशत) सेयर विक्री गर्ने मध्य भोटेकोसीले जनाएको छ ।
सबैलाई सेयर निष्काशन गरेपछि कम्पनीमा ४९ प्रतिशत हिस्सा सर्वसाधारणको हुनेछ । १ सय २ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाले वार्षिक ५९ करोड युनिट विद्युत् उत्पादन गर्नेछ । चिलिमे जलविद्युत् कम्पनीको नेतृत्वमा बन्न लागेको मध्य भोटेकोसी सिन्धुपाल्चोकको वाध मार्मिङ चाकुमा र पावर हाउस जम्बुमा रहने छ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ । १५ अर्ब रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३८ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र स्थानीय अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक÷एक प्रतिशत रहनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल, सिभिल क्यापिटल, प्रभु क्यापिटल, सानिमा क्यापिटल, एस क्यापिटल र लक्ष्मी क्यापिटल छन् ।