११ महिनामा ११ खर्बभन्दा बढीको वस्तु आयात

चालू आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ६ अर्ब ६४ करोड ७१ लाख रुपैयाँबराबरको वस्तु मुलुक भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो आयात गत वर्षको यसै अवधिको तुलनामा २३.८२ प्रतिशतले बढी हो । गत वैशाखसम्म आयातको वृद्धिदर २१.७१ प्रतिशत रहेकोमा जेठमा समग्र आयात वृद्धिदर २.११ प्रतिशतले बढेको छ ।

मुलुकमा दिन–प्रतिदिन आयातको मात्रा बढ्ने क्रम रोकिएको छैन । सरकारी तथा निजी क्षेत्रले जति आयात घटाउने भनेपनि व्यवहारमा त्यस्तो सङ्केत देखिएको छैन ।

चालू आर्थिक वर्षको ११ महिनामा ११ खर्ब ६ अर्ब ६४ करोड ७१ लाख रुपैयाँबराबरको वस्तु मुलुक भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो आयात गत वर्षको यसै अवधिको तुलनामा २३.८२ प्रतिशतले बढी हो । गत वैशाखसम्म आयातको वृद्धिदर २१.७१ प्रतिशत रहेकोमा जेठमा समग्र आयात वृद्धिदर २.११ प्रतिशतले बढेको छ ।

आयात बढेसँगै आयात निर्यात अनुपात पनि बढेको छ । गत वैशाखमा आयात निर्यात अनुपात ११.२९ रहेकोमा जेठमा बढेर १२.०९ गुणा बढेको छ । जेठमा आयात मात्रै होइन निर्यात पनि बढेको छ । तर, आयातको तुलनामा निर्यात न्यून भएकाले त्यसको असर देखिँदैन । जेठसम्म ७४ अर्ब ३२ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । निर्यात वृद्धिदर गत वर्षको यसै अवधिको तुलनामा १०.४६ प्रतिशतले बढेको छ भने वैशाखको तुलनामा जेठमा निर्यात वृद्धिदर समग्रमा १.१२ प्रतिशतले बढेको छ ।

यस अवधिमा व्यापार घाटा पनि बढेर १० खर्ब ३२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यस्तो घाटा गत वर्षको तुलनामा २४.९ प्रतिशतले बढी हो । कुल व्यापारमा आयातको हिस्सा बढ्दै गएको छ भने निर्यातको हिस्सा घटिरहेको छ । गत वर्ष जेठमा कुल व्यापारमा निर्यातको हिस्सा ७ प्रतिशत रहेकोमा अहिले ६.३ प्रतिशत छ भने आयात गत वर्ष जेठमा ९३ प्रतिशत रहेकोमा चालू वर्ष ९३.७ प्रतिशत छ ।

यस अवधिमा भएको आयात सरकारले चालू वर्ष खर्च गर्न कबुल गरेको रकमभन्दा बढी हो । सरकारले बजेटको मध्यावधि समीक्षामा १० खर्ब ८२ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । यद्यपि चालू वर्ष सकिन १२ दिन बाँकी रहँदा ९ खर्ब २८ अर्ब ११ करोड रुपैयाँ मात्रै खर्च भएको छ । आयातको वृद्धि हेर्दा असारमा आउने आयातको मूल्य जोड्दा कुल बजेट हाराहारी नै आयात हुने देखिन्छ ।

यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ १ खर्ब ७५ अर्ब ८७ करोड रुपैयाँबराबरको आयात भएको छ । त्यसैगरी मेसिनरी सामग्री १ खर्ब १५ अर्ब २९ करोड, आइरन र स्टिल १ खर्ब १२ अर्ब ११ करोड, सवारीसाधन र पार्टपुर्जा ७७ अर्ब ८२ करोड र विद्युतीय सामग्री ६९ अर्ब ८१ करोड रुपैयाँको आयात भएको छ । त्यसैगरी निर्याततर्फ कफी चिया सबैभन्दा बढी ८ अर्ब ४८ करोड, फाइबर ७ अर्ब ५६ करोड, कार्पेट र टेक्सटायल ६ अर्ब ७२ करोड, तयारी पोसाक ५ अर्ब ६७ करोड र आइरन तथा स्टिल ४ अर्ब ६६ करोड रुपैयाँको निर्यात भई सबैभन्दा बढी निर्यात हुने ५ बस्ुतमा परेका छन् ।